काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई पक्राउ गर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनमाथि नै अनुसन्धान हुनुपर्ने बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले सम्पत्ति शुद्धीकरणको आरोपमा हिरासतमा रहेका इनम सापकोटाको मोबाइल फरेन्सिक जाँचअघि दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी घरमा राखिएको घटनातर्फ ध्यानाकर्षण गराए।
प्रहरीले नियन्त्रणमा लिएको मोबाइल अनुसन्धानकै क्रममा प्रहरीकै जिम्मामा रहनुपर्ने उनको भनाइ छ। अनुसन्धानका लागि महत्वपूर्ण मानिने डिजिटल प्रमाण सल्लाहकारको घरमा कसरी पुग्यो भन्ने प्रश्न उनले उठाएका छन्। उक्त अवधिमा मोबाइलमार्फत सामाजिक सञ्जाल चलाइएको, विभिन्न सामग्रीका तस्वीर खिचिएको र केही सन्देश हटाइएको भन्ने आरोपबारे जवाफ माग्नुपर्ने उनले बताए।
पौडेलले सापकोटा र प्रधानमन्त्री तथा उनको सचिवालयबीचको सम्बन्धबारे पनि छानबिन गर्नुपर्ने धारणा राखे। उनले प्रमाण नष्ट गर्ने, कसुरदारलाई जोगाउने र अनुसन्धानमा बाधा पुर्याउने कामसँग जोडिएका मुलुकी अपराध संहिता, २०७४ का दफा ९२ र ९३ को स्मरण समेत गराए।
आफूमाथि उठेका प्रश्नबाट ध्यान अन्तै मोड्न गिरफ्तारीको हल्ला चलाइएको उनको आरोप छ। निष्पक्ष छानबिन गरी तथ्य र प्रमाणका आधारमा दोषीलाई कानुनी कारबाही गर्नुपर्ने उनले बताए।
