भदौ १० गते आएको बाढीले रसुवाको उत्तरगया गाउँपालिकामा पुर्याएको मानवीय क्षतिको तथ्यांक अन्ततः यकिन भएको छ। पालिकाले संकलन गरेको विवरणअनुसार बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये ११ जनाको पहिचान खुलिसकेको छ भने ६५५ जनाको मृत्यु दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ।
उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्यालले पालिकाभरको तथ्यांक जुटाएर मृत्यु दर्ताको काम सुरु गरिएको बताए। उनका अनुसार सबैभन्दा धेरै क्षति वडा नम्बर १ मा देखिएको छ, जहाँ ३८६ जनाको मृत्यु दर्ता प्रक्रियामा छ।
पालिकाले बेपत्ता व्यक्तिबारे जानकारी दिन सार्वजनिक सूचना जारी गरेको थियो। त्यसपछि सम्पर्कविहीन भएका व्यक्तिका परिवारका सदस्यहरू वडा कार्यालयमा पुगेर आफन्त बाढीमा परेको जानकारी दिएका थिए। परिवारबाट प्राप्त विवरणकै आधारमा पालिकाले हताहतीको संख्या टुंगो लगाएको हो।
अब पालिकाले पठाएको विवरणका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तथ्यांक यकिन गर्नेछ। प्राधिकरणले पुष्टि गरेपछि मन्त्रिपरिषद्ले ती व्यक्तिलाई मृतक सरह घोषणा गर्नेछ। घोषणा भएपछि मृतकका परिवारले पाउने सरकारी रकम सम्बन्धित परिवारको बैंक खातामा जम्मा गरिने अध्यक्ष अर्यालले बताए।
