तिहारको लामो बिदा सुरु भएसँगै हिमाली जिल्ला मुस्ताङ घुम्न जाने पर्यटकको चाप उल्लेख्य रूपमा बढेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकअनुसार कात्तिक १ देखि १५ गतेसम्म मात्रै ३५ हजार ८५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन्। तीमध्ये २७ हजार १०७ जना स्वदेशी र आठ हजार ७५१ जना विदेशी रहेका छन्। विदेशी पर्यटकमा सार्क मुलुकका सात हजार ७१४ जना र अन्य मुलुकका एक हजार ३७ जना छन्।
दसैँको आसपासमा भने मुस्ताङमा अपेक्षित पर्यटक आउन सकेका थिएनन्। भारी वर्षा, हिमपात, हिमपहिरो र आँधीको सम्भावनाका कारण त्यस बेला आवागमन सुस्ताएको थियो। तर तिहार नजिकिँदै गर्दा मौसम खुलेसँगै पर्यटकको आगमन बढेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालले बताए। उनका अनुसार तिहारको छेकोमा विदेशीभन्दा स्वदेशी पर्यटक दुई तिहाइले बढेका छन्। विद्यालय, कलेज, सरकारी तथा गैरसरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थामा लामो बिदा परेकाले धेरै मानिस घुम्न निस्किएका हुन्।
मुस्ताङ पुग्ने अधिकांश पर्यटकको पहिलो गन्तव्य मुक्तिनाथ मन्दिर हुने गरेको छ। केही पर्यटक भने नेपाल–चीन सीमानजिकैको कोरलानाकासम्म पुग्ने गरेका छन्। हिउँद लागेसँगै चिसो बढे पनि छठ पर्वसम्म सरकारी बिदा रहेकाले पर्यटकको आगमन जारी रहने पर्यटन व्यवसायीहरूको अपेक्षा छ। मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङका अनुसार तिहार र छठको समयमा युवापुस्ताको घुमफिरको रोजाइ मुस्ताङ बन्दै गएको छ।
यसपटक बेनी–जोमसोम सडक केही समय अवरुद्ध हुँदा र मौसम प्रतिकूल हुँदा आवागमनमा असर परे पनि गत वर्षको तुलनामा आगमनमा खासै कमी नदेखिएको व्यवसायीहरू बताउँछन्। मुक्तिनाथपछि पर्यटकहरू लोमान्थाङ दरबार, झोङ गुफा, घर गुम्बा, दामोदरकुण्ड, चिउसी गुफा, ढुम्बाताल, कागबेनी, जोमसोम र मार्फा पुग्ने गरेका छन्। थासाङ गाउँपालिकाका सेकुङ, भुतर्छो र टिटी ताल पनि पर्यटकको सूचीमा पर्छन्।
