काठमाडौं । प्रधानमन्त्री बालेन शाहकी पत्नी तथा प्रथम महिला सबिना काफ्लेले कुकुर तिहारजस्ता नेपाली मौलिक पर्वलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुपर्ने बताएकी छन्। कुकुर तिहार २०८३ का अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो धारणा राखेकी हुन्।
काफ्लेका अनुसार कुकुर तिहार केवल धार्मिक अनुष्ठान मात्र होइन, पशुप्रतिको माया, निष्ठा, करुणा र सहअस्तित्वको सन्देश बोकेको पर्व हो। विश्वभर कुकुरप्रतिको आकर्षण बढिरहेका बेला कुकुरको पूजा गर्ने नेपालको अनौठो परम्परालाई देशको सांस्कृतिक पहिचानका रूपमा स्थापित गर्न सकिने उनको भनाइ थियो।
‘कुकुर तिहारलाई अन्तर्राष्ट्रियकरण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। कुकुरप्रतिको प्रेम र सम्मानको सन्देश नेपालबाट विश्वभर पुर्याउन चाहन्छौँ,’ उनले भनिन्। कुकुर तिहारलाई एक दिनको उत्सवमा मात्र सीमित नराखी वर्षभरि पशु कल्याणका काम गर्नुपर्नेमा पनि उनले जोड दिइन्। कुकुरको उचित व्यवस्थापन, खोप, उपचार र जिम्मेवार पालनपोषणमा सबैले ध्यान दिनुपर्ने उनको आग्रह थियो।
काफ्लेले काग पूजा, गाई पूजा, नाग पूजा, नेवार समुदायको म्हः पूजा र छठजस्ता पर्वमा पनि प्रकृति र जीवजन्तुप्रतिको सम्मान झल्किने बताइन्। वर्षा नभएका बेला भ्यागुताको विवाह गराउने चलनलाई उनले प्रकृति र मानवबीचको सम्बन्धको उदाहरणका रूपमा प्रस्तुत गरिन्।
कार्यक्रममा कुकुर तिहारको विश्वव्यापी प्रचारका लागि ‘फ्रम नेपाल विथ पज’, ‘डेज अफ द डग्स’, ‘भिजिट नेपाल डग स्टे’, ‘लभ योर डग्स एभ्री डे’ र ‘कुकुर तिहार नेपाल’ ह्यासट्याग सार्वजनिक गरियो। कार्यक्रममा काफ्लेले बिन्दु नामक कुकुरको पूजा गरिन् भने कलाकार बसुन्धरा भुसाल, भुवन केसी र मिथिला शर्माले सशस्त्र प्रहरीको केनाइन युनिटमा तालिमप्राप्त कुकुर साम्बालाई सम्मान गरे।
सोही अवसरमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशु कल्याण र मानव स्वास्थ्य एकअर्काका पूरक भएको बताउँदै रेबिज नियन्त्रण, खोप र बन्ध्याकरणमा सबै तहको सहकार्य आवश्यक रहेको उल्लेख गरिन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले कुकुर र मानिसको सम्बन्ध धर्मग्रन्थमै उल्लेख भएको बताए।
