देशका विभिन्न चार जिल्लामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २८ जनालाई पक्राउ गरेको छ। काठमाडौँ, बाँके, भक्तपुर र चितवनमा छुट्टाछुट्टै कारबाही गर्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। छापाका क्रममा १० लाख रुपैयाँभन्दा बढी नगद र २१ बुक तास बरामद भएको छ।
काठमाडौँ महानगरपालिका–४ बालुवाटारस्थित एक रेस्टुरेन्टमा जुवातास खेलिरहेका ९ जना गएराति पक्राउ परेका हुन्। सोही वडाका ४९ वर्षीय सुनिल श्रेष्ठसहितका उनीहरूलाई मालीगाउँ प्रहरी वृत्तबाट खटिएको टोलीले पक्राउ गरेको हो। त्यहाँबाट नगद ६ लाख ८५ हजार १ सय ९५ रुपैयाँ र ९ बुक तास बरामद भएको प्रहरीले जनाएको छ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ मा शनिबार दिउँसो गरिएको कारबाहीमा ४७ वर्षीय देवबहादुर चन्दसहित ७ जना पक्राउ परेका छन्। चन्दको घरमा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले त्यहाँबाट १ लाख ७७ हजार ६ सय रुपैयाँ र १० बुक तास बरामद गरेको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुमा शनिबार राति गरिएको कारबाहीमा ६ जना पक्राउ परेका छन्। सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–१ घर भएका ४२ वर्षीय वाङगेल लामाको टहरामा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। अस्थायी प्रहरी पोस्ट गुण्डुको टोलीले ७२ हजार ७ सय ५० रुपैयाँ र १ बुक तास बरामद गरेको छ।
चितवनको खैरहनी नगरपालिका–१० जिबनपुर चोकमा शनिबार साँझ गरिएको कारबाहीमा पनि ६ जना पक्राउ परेका छन्। खैरहनी–६ बस्ने ३१ वर्षीय अनिश पाठकसहितका उनीहरूबाट ७२ हजार ३ सय रुपैयाँ र १ बुक तास बरामद भएको छ। चारै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
