काठमाडौंको कलंकी चोकबाट थ्री नट थ्री राइफलमा प्रयोग हुने गोलीसहित एक जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–१४ स्थित कलंकी चोकमा शङ्कास्पद अवस्थामा हिँड्डुल गरिरहेका व्यक्तिको साथबाट प्रहरीले एक राउण्ड गोली फेला पारेको हो।
पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–११ दमौलीका ४२ वर्षीय सुरेन्द्र नेपाली रहेका छन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनमाथि हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गोली कसरी र कहाँबाट उनको साथमा पुग्यो भन्नेबारे अनुसन्धान जारी छ। प्रहरीले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ।
