जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका जबर्जस्ती करणी मुद्दाका एक दोषीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति इनरुवा नगरपालिका–१ निवासी २० वर्षीय आकाशकुमार खत्वे हुन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार साँझ करिब ६ बजे सामझालास्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको हो। लामो समयदेखि फरार रहेका उनलाई खोजीका क्रममा घरमै भेटिएको प्रहरीले जनाएको छ।
सुनसरी जिल्ला अदालतले २०८१ माघ ३ गते जबर्जस्ती करणी मुद्दामा खत्वेलाई १३ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो। त्यसपछि कारागारमा रहेका उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए।
आन्दोलनका क्रममा देशभरका कारागारबाट भागेका कैदीहरूको खोजीमा प्रहरी सक्रिय छ। पक्राउ परेका खत्वेलाई थप कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
