काठमाडौं । नेपाली म्याराथनका पर्याय मानिने बैकुण्ठ मानन्धरले सन् १९८७ मा कायम गरेको २ घण्टा १५ मिनेट ३ सेकेन्डको कीर्तिमान झन्डै चार दशक पुग्न लाग्दा पनि टुटेको छैन । भारतको कोलकातामा सम्पन्न तेस्रो दक्षिण एसियाली खेलकुदमा बनेको उक्त रेकर्ड नेपाल मात्र होइन, दक्षिण एसियाका खेलाडीले समेत तोड्न सकेका छैनन् ।
७५ वर्षीय मानन्धरले सन् १९८३ को काठमाडौं साग, १९८५ को बंगलादेश साग र १९८७ को भारत सागमा लगातार तीन स्वर्ण पदक जितेका थिए — सागमा नेपाललाई पहिलो स्वर्ण दिलाउने खेलाडी उनी नै हुन् । उनले सन् १९७६, १९८०, १९८४ र १९८८ का ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरे । सन् १९९२ को ओलम्पिकमा छनोट भए पनि नयाँ खेलाडीलाई अवसर दिनुपर्छ भन्दै उनले खेलेका थिएनन् ।
आफ्नो नाममा रहेको कीर्तिमान अझै नटुटेकोमा उनलाई गर्वभन्दा बढी चिन्ता छ । ‘मैले रेकर्ड बनाएको धेरै भइसक्यो, म चाहन्छु, मेरो रेकर्ड ब्रेक होस्,’ उनी भन्छन् । कीर्तिमान नटुट्नुको कारण खेलाडीको क्षमतामा मात्र नभई प्रशिक्षण प्रणाली, पोषण, सुविधा र दीर्घकालीन योजनाको अभावमा खोज्नुपर्ने उनको ठम्याइ छ । हप्ताको दुई दिन दशरथ रंगशाला पुग्ने उनी १२–१३ वर्षकै उमेरदेखि खेलाडीलाई तयार गर्ने योजना बनाउनुपर्नेमा जोड दिन्छन् ।
