सोमबार बिहान दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा बिरामी बोकेको बलेरो सडकबाट करिब २०० मिटर तल खस्दा चालकसहित ६ जना घाइते भएका छन्।
कालिकोटबाट बिरामीलाई उपचारका लागि सुर्खेत लैजाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बलेरो दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बिरामीलाई अक्सिजनसहित सुर्खेत लैजाने क्रममा गाडी सडकबाट तल खसेको हो।
गाडी कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय योगेश सिंखडाले चलाएका थिए। दुर्घटनामा चालक सिंखडासहित १८ वर्षीय गंग शार्की, २१ वर्षीय तपेन्द्र सिंखडा, ३६ वर्षीया जादुकाल सार्की, ४१ वर्षीय रने शार्की र २७ वर्षीया कैसी सार्की घाइते भएका छन्। कैसी बिरामी हुन्।
चालक सिंखडाको शरीरका विभिन्न भागमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेको पनि शरीरका विभिन्न भागमा चोट लागेको छ।
घाइते सबैलाई उपचारका लागि सुर्खेत पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
