सिरहाको भगवानपुर गाउँपालिकाबाट ८३ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका–४ कल्याणपुर टोलका ५५ वर्षीय देवशरण यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आज बिहान करिब ३:३० बजे भगवानपुर गाउँपालिका–४ स्थित बलान खोलामा केही व्यक्तिले टाउकोमा पोका बोकेर आउँदै गरेको सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडीबाट खटिएको संयुक्त प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोली पुगेपछि उनीहरूले बोकेको पोका फालेर भाग्ने प्रयास गरेका थिए। सोही क्रममा प्रहरीले यादवलाई नियन्त्रणमा लिएको थियो।
घटनास्थलबाट गाँजा भरिएका पाँचवटा पोका बरामद गरिएको प्रहरीले जनाएको छ। कपडा र प्लास्टिकले बेरिएको बोरासहित तौल गर्दा कुल ८३ किलो ५६० ग्राम गाँजा रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न अन्य व्यक्ति भने फरार भएका छन्। उनीहरूको खोजी भइरहेको र पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
