दैलेख । कर्णाली राजमार्गमा जिप सडकबाट तल खस्दा एक जनाको ज्यान गएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।
दुर्घटना जिल्लाको गुराँस गाउँपालिका–१ काफलतोली क्षेत्रमा भएको हो। कालिकोटबाट विषादी सेवन गरेकी बिरामीलाई अक्सिजन सिलिन्डरसहित उपचारका लागि सुर्खेततर्फ लैजाँदै गरेको जिप अनियन्त्रित भएर सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ। जिपको नम्बर क.प्र.०२–००१ च १२१५ हो।
ज्यान गुमाउनेमा कालिकोटको सन्नित्रिवेणी गाउँपालिका–६ का ४१ वर्षीय रने सार्की छन्। उनको सोमबार बिहान ८ बजे उपचारका क्रममा मृत्यु भएको हो।
घाइते हुनेमा सन्नित्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय चालक योगेश सिम्खडा, १८ वर्षीय गंग सार्की र २१ वर्षीय तपेन्द्र सिम्खडा छन्। त्यस्तै सोही गाउँपालिकाको वडा नं. ६ का जादुकाल सार्की र बिरामी कैसी सार्की पनि घाइते भएका छन्।
सबै घाइतेलाई तत्कालै उद्धार गरी सुर्खेत पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीयवासी र प्रहरीको टोली उद्धारमा खटिएको थियो। घाइतेहरूको सुर्खेतमा उपचार भइरहेको छ।
कर्णाली राजमार्गको यो खण्डमा साँघुरो सडक र भिरालो भूभागका कारण बेला–बेलामा दुर्घटना हुने गरेको स्थानीयवासी बताउँछन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
