काठमाडौं । तिहारअघि सेयर बजार परिसूचक नेप्से २६५५ अंकमा बन्द भएको छ । पछिल्लो एक महिनाको अवधिमा नेप्से परिसूचक २.९८ प्रतिशतले उकालो लागेको छ । समग्र बजारमा सामान्य वृद्धि देखिए पनि केही कम्पनीका सेयरधनीले भने एक महिनामै उल्लेख्य लाभ हात पारेका छन् ।
पछिल्लो एक महिनामा मूल्य सबैभन्दा धेरै बढेका १० कम्पनीमध्ये आठ वटा जलविद्युत् समूहका छन् । सूचीमा एउटा माइक्रोलाइफ इन्स्योरेन्स कम्पनी र एउटा वाणिज्य बैंक पनि परेका छन् । यी १० कम्पनीको मूल्यवृद्धि ११.७३ प्रतिशतदेखि १५.९४ प्रतिशतसम्म रहेको छ ।
सबैभन्दा धेरै मूल्य बढ्नेमा घलेम्दी हाइड्रोपावर रहेको छ । असोज २० मा २७८.६० रुपैयाँ रहेको उसको सेयर मूल्य कात्तिक २० मा ३२३ रुपैयाँ पुग्यो, जुन १५.९४ प्रतिशतको वृद्धि हो । मन्दाकिनी हाइड्रोपावरको मूल्य १४.७६ प्रतिशत, स्वेतगंगा हाइड्रोपावरको १४.४८ प्रतिशत र रिभर फल्स पावरको १४.३३ प्रतिशतले बढेको छ । ग्रिन भेन्चर्सको मूल्य १२.९५ प्रतिशत र सानिमा मिडिल तमोरको १२.९१ प्रतिशतले उकालो लागेको छ ।
क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १२.५६ प्रतिशतले बढेर ११९२ रुपैयाँ पुगेको छ । मकर जितुमाया सुरी हाइड्रोपावरको मूल्य ११.९५ प्रतिशत र एनआईसी एसिया बैंकको मूल्य ११.९० प्रतिशतले बढेको छ । सबैभन्दा कम मूल्यवृद्धि कुथेली बुखरी स्मल हाइड्रोपावरको रहेको छ, जसको सेयर एक महिनामा ११.७३ प्रतिशतले बढेर ९०५ रुपैयाँ पुगेको छ । चुक्ता पूँजीका हिसाबले यो जलविद्युत् कम्पनीहरूमध्ये सबैभन्दा सानो कम्पनी हो ।
जलविद्युत् कम्पनीहरूको पहिलो त्रैमासिक वित्तीय विवरण राम्रो आउने अपेक्षा लगानीकर्तामा देखिएको छ । कात्तिक मसान्तभित्र यी कम्पनीहरूले आफ्नो पहिलो त्रैमासिक विवरण सार्वजनिक गर्नेछन् । बैंकहरूको ब्याजदर घट्दै गएकाले जलविद्युत् कम्पनीहरूको वित्तीय खर्च कम हुने र त्यसको सिधा फाइदा नाफामा देखिने विश्लेषण छ । निर्माण सम्पन्न भई व्यवसायिक उत्पादन गरिरहेका आयोजनाहरूको आम्दानी बढ्दै गएकाले पनि लगानीकर्ताको आकर्षण यी कम्पनीतर्फ बढेको देखिन्छ ।
