काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले स्थानीय कृषि उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि देशभरका ठूला शहरमा नियमित रूपमा रैथाने मेला आयोजना गर्न सरकारलाई आग्रह गरेका छन्।
थापाथलीस्थित खाद्य संस्थान परिसरमा सञ्चालन भइरहेको तिहार विशेष रैथाने मेलाको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्ता मेलालाई तिहारजस्ता चाडपर्वमा मात्र सीमित नराखी शनिबार, आइतबार तथा अन्य बिदाका दिनमा पनि निरन्तर सञ्चालन गर्नुपर्ने बताए। मेला काठमाडौंमा मात्र नभई ठूला बजार भएका विभिन्न शहरमा विस्तार गर्नुपर्ने उनको भनाइ छ।
दुर्गम क्षेत्रका किसानले आफ्ना उत्पादन उपभोक्तासम्म पुर्याउने अवसर यस्ता मेलाले दिने उनले बताए। उनका अनुसार उपत्यकामा परिचित उत्पादनभन्दा बाहिरका क्षेत्रका रैथाने उत्पादनले उपभोक्तालाई नयाँ स्वाद र जानकारी दिन्छन्। सरकारले सार्वजनिक बिदा तथा पर्वका अवसरमा मेला आयोजना गरे किसान र उत्पादकलाई थप लाभ पुग्ने उनको भनाइ छ।
किसानका उत्पादनको प्रचारप्रसार सरकार, सरकारी निकाय र सञ्चारमाध्यमले गर्नुपर्नेमा उनले जोड दिए। खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङलगायतका निकायले यसमा सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ छ। मेलामा करिब २६ वटा स्टल रहेका छन्। अवलोकनका क्रममा सभामुख अर्यालले आफैं करिब सात हजार रुपैयाँ बराबरका सामान खरिद गरेका थिए।
