काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत काठमाडौं गोर्खाज र चितवन राइनोजबीचको खेलमा दुवै टोलीले प्लेइङ–११ मा परिवर्तन गरेका छन् । काठमाडौंले स्पिनर शहाब आलमको स्थानमा गणेश गौतमलाई टोलीमा समेटेको छ भने चितवनले इंग्ल्यान्डका अनुभवी ब्याटर डेभिड मलानको स्थानमा कमिल मिलसारालाई खेलाएको छ ।
करण केसीको कप्तानीमा रहेको काठमाडौंले गणेश गौतमलाई समेट्दा अन्य खेलाडीलाई निरन्तरता दिएको छ । काठमाडौंको प्लेइङ–११ मा कप्तान करण केसीसँगै भीम सार्की, राशिद खान, साहिल पटेल, गणेश गौतम, सन्तोष यादव, आदिल आलम, जहानदाद खान, विल बोसिस्टो, शेहान अरागिचे र डेभिड वार्नर छन् ।
यता, सिकन्दर राजाको कप्तानीमा रहेको चितवनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । चितवनको टोलीमा कप्तान सिकन्दर राजासँगै कुशल मल्ल, रवि बोपारा, रिजन ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, विवेक कुमार यादव, रञ्जित कुमार, मौसम ढकाल, कमिल मिलसारा र टम टेयलर छन् ।
अंक तालिकामा काठमाडौं चार खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा छ । चितवन भने पाँच खेलबाट ५ अंकसहित चौथो स्थानमा रहेको छ । दुवै टोलीका लागि यो खेल अंक तालिकामा आफ्नो स्थिति सुधार्ने अवसरका रूपमा रहेको छ ।
