काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को सोमबारको खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामी अनौठो तरिकाले आउट भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सले दिएको २१८ रनको लक्ष्य पछ्याइरहेका बेला यो घटना भएको हो ।
मेहेदी हसनको बलमा सोमपालले पहिले ब्याटले बललाई एक पटक हिर्काए । त्यसपछि रिस देखाउँदै उनले बललाई फेरि हिर्काए । अम्पायरले उक्त घटनालाई गम्भीरतापूर्वक लिए र रिभ्यू जाँच गराए । जाँचपछि अन्तिम निर्णय आउटको पक्षमा आयो ।
क्रिकेटको नियमअनुसार ब्याटरले जानाजानी बललाई दोस्रो पटक हिर्काएर फिल्डिङमा अवरोध पुर्याएमा ‘अब्स्ट्रक्टिङ द फिल्ड’ अन्तर्गत आउट दिइन्छ । सोही नियमका आधारमा सोमपाललाई पभेलियन फर्किनुपर्यो ।
कर्णालीका कप्तानको यस्तो आउटले मैदानमा उपस्थित दर्शक र खेलप्रेमीलाई अचम्मित बनाएको छ । एनपीएलमा यस्तो दुर्लभ घटना विरलै देखिने गरेको छ । खेलको त्यस मोडमा सोमपालको विकेट गुमाउनु कर्णालीका लागि ठूलो धक्का मानिएको छ, र २१८ रनको लक्ष्य पछ्याउने यात्रामा टोलीमाथि थप दबाब बढेको छ ।
