उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको छ।
मन्त्री साहको सचिवालयका अनुसार भेटका क्रममा दुई देशबीचको व्यापारिक सहकार्य र आर्थिक सम्बन्धका विविध पक्षमा विचार आदानप्रदान भएको थियो। भेटमा दुवै देशबीच आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।
नेपाल र भारतबीचको व्यापारिक सम्बन्ध लामो समयदेखि घनिष्ठ रहँदै आएको छ। भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। यस्ता उच्चस्तरीय भेटवार्ताले दुई देशबीचको आर्थिक सहकार्यलाई थप गति दिने विश्वास गरिएको छ।
दुवै पक्षले आगामी दिनमा व्यापार तथा आर्थिक क्षेत्रमा सहकार्यलाई अझ विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्। मन्त्रालयले भेटलाई सौहार्दपूर्ण र फलदायी भएको बताएको छ।
