नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले हराएको छ। यो जितसँगै लगातार चार खेलमा पराजित पोखराले अंक तालिकामा खाता खोलेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको थियो। पोखराका युवराज सम्राले ४८ बलमा ६ छक्का र १० चौकासहित १०२ रनको शतकीय पारी खेले। यस्तै कुशल भुर्तेलले ३९ बलमा ७ छक्कासहित ६२ रन बनाए भने कप्तान चमिका करुरत्नेले ११ बलमा ३ छक्का र ३ चौकासहित अविजित ३५ रनको विस्फोटक पारी खेले।
कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिए भने मार्क वाटले १ विकेट लिए।
पोखराले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १८ ओभर ३ बलमा १५४ रन बनाउँदा अलआउट भयो। कर्णालीका पवन सर्राफले ३१ बलमा २ छक्का र १ चौकासहित ३२ रन बनाए। आरिफुल इस्लामले १३ बलमा २ छक्का र २ चौकासहित २४ रन बनाए भने दीपक डुम्रेले ७ बलमा ३ छक्का र १ चौकासहित २२ रन बनाए।
पोखराका मेहेदी हसनले ३ विकेट लिए। धनन्जय लक्सन, कुशल भुर्तेल र विपिन खत्रीले समान २–२ विकेट लिए।
पराजित कर्णाली ५ खेलमा ४ अंकसहित सातौँ स्थानमा झरेको छ। अब कर्णालीलाई प्लेअफ पुग्न कठिनाइ हुने देखिन्छ। सोमबारै हुने दोस्रो खेलमा काठमाण्डु गोर्खाज र चितवन राईनोज खेल्दैछन्। यो खेल बेलुका ५ बजेपछि सुरु हुनेछ।
