काठमाडौं । सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेको यो बेला बोनस सेयर पाएका लगानीकर्ता भने करको भारले चिन्तित भएका छन् । नगद र सेयर गरी दुई किसिमको लाभांश दिने चलन छ, जसमा बोनस सेयरमा कम्पनीले नगद नदिई थप सेयर दिन्छ । तर त्यही बोनस सेयरले लगानीकर्तालाई फाइदाभन्दा बेफाइदा बढी पुर्याइरहेको गुनासो उठेको छ ।
बोनस सेयर वितरणपछि बजारमा सेयरको आपूर्ति बढ्छ र प्रतिसेयर मूल्य घट्छ, तर कर गणनामा बोनस सेयरको लागत मूल्य प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका आधारमा निकालिन्छ ।
उदाहरणका लागि कुनै लगानीकर्ताले १०० कित्ता सेयर प्रतिकित्ता ३२० रुपैयाँमा किनेर ३२ हजार रुपैयाँ खर्च गरेको छ । १२ प्रतिशत बोनस पाएपछि उसको सेयर ११२ कित्ता पुग्छ र मूल्य समायोजन भएर २८५.७१ रुपैयाँमा झर्छ, तर कुल मूल्य ३२ हजार नै रहन्छ । ती १२ कित्ता बोनस सेयर त्यही मूल्यमा बेच्दा पनि अंकित मूल्यभन्दा माथिको रकममा पूँजीगत लाभकर लाग्छ । मूल्य झरेर २८० रुपैयाँ पुग्दा ११२ कित्ता बेच्दा लगानीकर्ता नोक्सानीमा हुन्छ, तर पनि उसले कर तिर्नुपर्छ ।
आन्तरिक राजस्व विभागले २०७५ सालदेखि बोनस र हकप्रद सेयरको लागत मूल्य अंकित मूल्यका आधारमा गणना गर्ने व्यवस्था लागू गरेको हो । सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेलका अनुसार यो व्यवस्थाका कारण नोक्सानीमा पनि कर तिर्न बाध्य हुनुपरेको छ । संघले समायोजित बजार मूल्य वा माउ सेयरको लागत बाँडफाँट गरेर गणना गर्न सुझाव दिएको छ ।
विभागका महानिर्देशक भिष्मकुमार भुसालले बोनस सेयर आफैमा लाभ भएकाले त्यसमा कर लाग्नु स्वाभाविक रहेको बताएका छन् । नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बोनस सेयरलाई सञ्चित मुनाफा चुक्ता पूँजीमा रूपान्तरण गर्ने माध्यम भने ।
