काठमाडौं । नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्ससँग ६३ रनले पराजित भएपछि कर्णाली याक्सका ब्याटर पवन सर्राफले खेलको सुरुवातमै विकेट गुमाउनु हारको मुख्य कारण भएको बताएका छन्।
सोमबार सम्पन्न खेलपछि प्रतिक्रिया दिँदै पवनले पावरप्लेमा लगातार विकेट खस्दा टोली ठूलो दबाबमा परेको बताए। उनका अनुसार सुरुवातमा बलियो साझेदारी बनेको भए पोखराले दिएको लक्ष्य पछ्याउन सकिन्थ्यो।
पवनका अनुसार टोलीको योजना सुरुदेखि नै रन बनाउने थियो, तर पावरप्लेमा विकेट गुमेपछि मध्यक्रमका ब्याटर पनि दबाबमा परे। पावरप्लेमा राम्रो स्कोर बनेको भए लक्ष्य पूरा गर्न सकिन्थ्यो भन्ने उनको भनाइ छ।
यस खेलमा जिशनलाई ओपनिङ ब्याटरका रूपमा पठाइएको थियो। तर सुरुमै विकेट खस्दा टोलीको योजना प्रभावित भएको पवनको भनाइ छ। पहिलो विकेट नगएको भए राम्रो साझेदारी बन्न सक्ने उनले बताए।
पवनले प्रतियोगिताको सुरुवातमा कर्णालीले राम्रो प्रदर्शन गरेको सम्झिए। पहिलो दुई खेलमा टोलीका खेलाडीले राम्रो खेलेका थिए। सोनुसँगको आफ्नो साझेदारीले टोलीलाई जित दिलाउन सहयोग गरेको उनले बताए।
तर त्यसपछिका खेलमा टोलीले आफ्नो लय कायम राख्न नसकेको उनको भनाइ छ। १८० रनको लक्ष्यसमेत जोगाउन नसक्दा टोलीको मनोबलमा असर परेको उनले बताए। पछिल्लो खेलमा फिल्डिङमा पनि कमजोरी देखिएको उनले स्वीकार गरे। केही रन रोक्न नसक्नु र क्याच छुट्नुले टोलीलाई नोक्सान पुर्याएको उनको भनाइ छ।
कर्णालीले लगातार तीन खेलमा हार बेहोरे पनि प्लेअफ पुग्ने सम्भावना अझै बाँकी रहेको पवनले बताए। लगातार तीन खेल हार्दा प्लेअफको यात्रा कठिन बनेको भए पनि सम्भावना सकिएको छैन र अब बाँकी दुवै खेल जित्नुपर्ने उनको भनाइ छ।
