पोखरा । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा गण्डकी प्रदेश सरकारले आफ्नो कुल बजेटको जम्मा आठ दशमलव १५ प्रतिशत रकम मात्र खर्च गरेको छ । असोज मसान्तसम्मको तथ्याङ्कअनुसार विनियोजित ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँमध्ये दुई अर्ब ६९ करोड २६ लाख ५३ हजार ३१६ रुपैयाँ खर्च भएको प्रदेश कोष नियन्त्रक सुरेश सुवेदीले जानकारी दिए ।
चालु खर्चतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार रुपैयाँको बजेटमध्ये एक अर्ब ४३ करोड ८७ लाख ६६ हजार ८७२ रुपैयाँ अर्थात् ११ दशमलव तीन प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ भने खर्चको गति अझै सुस्त देखिएको छ । पुँजीगत बजेट २० अर्ब दुई करोड ६१ लाख २२ हजार रुपैयाँमध्ये एक अर्ब २५ करोड ३८ लाख ६६ हजार ८७२ रुपैयाँ अर्थात् छ दशमलव २६ प्रतिशत मात्र खर्च भएको सुवेदीले बताए ।
मन्त्रालयगत हिसाबमा सबैभन्दा धेरै रकम स्वास्थ्य मन्त्रालयले खर्च गरेको छ । तीन अर्ब ३१ करोड २४ लाख ८४ हजार रुपैयाँको बजेट रहेको उक्त मन्त्रालयले तीन महिनामा ११ दशमलव पाँच प्रतिशत बजेट खर्च गरेको छ । अन्य मन्त्रालयको खर्च पनि सन्तोषजनक रहेको प्रदेश कोष नियन्त्रकको भनाइ छ ।
गत आर्थिक वर्षको सोही अवधिमा आठ दशमलव तीन प्रतिशत बजेट खर्च भएको थियो, जुन यस वर्षको तुलनामा केही बढी हो । आर्थिक वर्षको सुरुआतमा कार्यक्रम र योजनाहरू भर्खरै सुरु हुने भएकाले खर्चको प्रतिशत कम हुने सुवेदीको भनाइ छ । योजना तथा कार्यक्रमहरू तेस्रो र चौथो त्रैमासमा सम्पन्न भएर सोही बेला भुक्तानी हुने भएकाले आर्थिक वर्षको अन्त्यतिर खर्च बढ्ने उनले बताए ।
