बाँकेका किसानले खेतबाट धान भित्र्याइसके पनि बिक्रीको बाटो खुल्न सकेको छैन। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष खरिद प्रक्रिया नै सुरु नगरेपछि किसान अन्योलमा परेका छन्। लामो समयदेखि कम्पनीलाई धान बेच्दै आएका नेपालगन्ज–१९ का कल्लुबहादुर वलीले यसपालि प्रक्रिया अघि नबढेको बताए।
घरमा धान थुप्रिएर राख्ने ठाउँ नभएको किसानको गुनासो छ। व्यापारीलाई नदिई कम्पनीलाई नै बेच्ने प्रतीक्षामा बसेका किसानलाई खरिद कहिले सुरु हुन्छ भन्ने टुंगो छैन। कम्पनीले यस वर्ष २० हजार क्विन्टल धान खरिदका लागि कोटा मागेको थियो, तर १० हजार क्विन्टल मात्र स्वीकृत भएको नेपालगन्ज कार्यालयका प्रमुख रामशरण लामिछानेले जानकारी दिए।
गत वर्ष १५ हजार क्विन्टल मोटा र पाँच हजार क्विन्टल मध्यम धान गरी २० हजार क्विन्टल खरिद गर्ने लक्ष्य राखिएको थियो। आर्थिक वर्ष २०८१/८२ मा ४० हजार क्विन्टलको लक्ष्य रहेकामा नेपालगन्ज कार्यालयले ३२ हजार क्विन्टल खरिद गरेको थियो। यस वर्ष कम्पनीले मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६६० र मध्यम धानको तीन हजार ८६० रुपैयाँ तोकेको छ।
तर व्यापारीले कम्पनीको मूल्यभन्दा प्रतिक्विन्टल ५०० देखि एक हजार ५०० रुपैयाँ कममा धान किनिरहेको नेपालगञ्ज–१९ सुयिगाउँका किसान ध्रुव थापाले बताए। यस वर्ष धान राम्रो फले पनि भण्डारण गर्ने ठाउँ नभएको र चाडपर्वको खर्च जुटाउन किसान सस्तोमै धान बेच्न बाध्य भएको उनको भनाइ छ। कम्पनीले ढिलो खरिद गर्ने र प्रक्रिया झन्झटिलो हुने भएकाले पनि किसानले तोकिएको मूल्यभन्दा प्रतिक्विन्टल ५०० देखि एक हजार रुपैयाँ कममा व्यापारीलाई धान बेच्नुपरेको थापाले बताए।
