नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजका युवा बलर गणेश गौतमले आफ्नो पहिलो खेलमै यादगार प्रदर्शन गरेका छन्।
सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजविरुद्ध बलिङ गर्दै गौतमले प्रतियोगितामा आफ्नो पहिलो विकेट हात पारे। उनको सिकार बने चितवनका कप्तान तथा जिम्बाब्वेका चर्चित अलराउन्डर सिकन्दर राजा।
राजा केवल तीन बल खेलेर दुई रन बनाएर आउट भए। डेब्यु खेलाडीको बलमा विपक्षी कप्तान नै आउट हुनु गौतमका लागि विशेष क्षण बन्यो।
यसअघि काठमाडौँले पहिले ब्याटिङ गर्दै १८० रन बनाएको थियो। रसिद खानको अर्धशतकको मद्दतले गोर्खाजले चितवनसामु १८१ रनको लक्ष्य राखेको हो।
जवाफमा चितवनले १५ ओभरको खेल सकिँदा चार विकेट गुमाएर ११८ रन बनाएको थियो। जितका लागि उसलाई अन्तिम पाँच ओभरमा ६३ रन चाहिएको थियो।
गौतमको यो डेब्यु विकेटले उनलाई एनपीएलको चर्चामा ल्याएको छ। युवा खेलाडीले ठूला नामविरुद्ध यस्तो प्रदर्शन गर्नु नेपाली क्रिकेटका लागि सुखद संकेत मानिएको छ।
