काठमाडौं — चितवन राइनोजका अनुभवी ब्याटर रवि बोपाराले नेपाल प्रिमियर लिगको यस सिजनमा प्रयोग भइरहेका पिचको गुणस्तरप्रति खुलेर असन्तुष्टि व्यक्त गरेका छन्। उनका अनुसार प्रतियोगिताभर आफूहरूले खेलेका अधिकांश पिच अपेक्षाअनुसारका थिएनन्। तर, सोमबार काठमाडौं गोर्खाजविरुद्ध खेलिएको पिच भने अहिलेसम्मकै उत्कृष्ट रहेको उनको भनाइ छ।
सोमबार काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७० रनमा सीमित भयो र १० रनले पराजित भयो। चितवनका लागि बोपाराले ३५ बलमा दुई चौका र तीन छक्कासहित सर्वाधिक ५५ रन बनाएका थिए। एक समय ८५ रनमा एक विकेट मात्र गुमाएको चितवन त्यसपछि लगातार विकेट गुमाउँदै खेलमा फर्किन सकेन।
बलिङबारे बोल्दै बोपाराले पहिलो चार ओभरसम्म टोलीले विपक्षीलाई राम्रो अवस्थामा राखेको तर पाँचौँ ओभरदेखि खेल आफ्नो हातबाट फुत्किएको बताए।
हारका बाबजुद उनले नेपाली खेलाडीको प्रदर्शनमा आएको सुधारको प्रशंसा गरे। पछिल्लो दुई वर्षमा नेपाली खेलाडीको पावर हिटिङ क्षमतामा उल्लेखनीय विकास भएको र आगामी चार–पाँच वर्षमा अझ ठूलो सुधार देखिने उनको विश्वास छ। एनपिएलजस्ता प्रतियोगिताले स्थानीय खेलाडीको विकासमा महत्वपूर्ण भूमिका खेलेको पनि उनले बताए।
चितवनका तीव्र गतिका बलर रिजन ढकाल र कमल ऐरीलाई लिगकै उत्कृष्ट तीव्र गतिका बलरमध्ये दुई भएको बताउँदै बोपाराले विशेषगरी रिजनले मध्य ओभर र डेथ ओभर दुवैमा आफ्नो क्षमता प्रमाणित गरेको उल्लेख गरे।
हारसँगै चितवन पाँच अंकसहित अंकतालिकाको चौथो स्थानमा छ। बाँकी दुई खेल प्लेअफमा पुग्ने सम्भावना कायम राख्न निर्णायक हुने बोपाराले बताए। नेपालमा खेल्न निकै रमाइलो भइरहेको उल्लेख गर्दै उनले यहाँको चिसो साँझलाई इंग्ल्यान्डको मौसमसँग तुलना गरे।
