अन्ताल्या । बढ्दो गर्मी, वायु प्रदूषण र जलवायुसम्बन्धी विपद्ले विश्वभरको जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको विज्ञहरूले चेतावनी दिएका छन्। टर्कीएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–३१ का क्रममा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले जलवायु सङ्कट महामारीकै स्तरमा पुगेको बताए।
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले दक्षिण एसियामा करोडौँ मानिस अत्यधिक गर्मीको जोखिममा रहेको बताए। उनका अनुसार यस वर्षको ग्रीष्ममा तापक्रमले पुराना सबै रेकर्ड तोड्दा युरोपमा मात्रै अनुमानित ५० हजार मानिसको ज्यान गएको छ। शक्तिशाली एल निनोले असरलाई झन् तीव्र बनाएको उनको भनाइ छ।
गर्भवती महिला, नवजात शिशु र मातृस्वास्थ्यमा देखिएको असर अर्को गम्भीर चुनौती बनेको उनले बताए। कोइला, तेल र ग्यासको ठूलो प्रयोग तथा वन विनाश यसका प्रमुख कारण रहेको उनको भनाइ छ।
विश्व मौसम विज्ञान सङ्गठनका महासचिव सेलिस्टे साउलोले पछिल्ला १२ वर्ष अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष भएको जानकारी दिइन्। सन् २०२६ को जनवरीदेखि सेप्टेम्बरसम्म विश्वको औसत तापक्रम औद्योगिक युगअघिको औसतभन्दा करिब १.४७ डिग्री सेल्सियस बढी रहेको उनले बताइन्। समुद्री सतह अहिलेसम्मकै उच्च बिन्दुमा पुग्दा तटीय क्षेत्रमा बसोबास गर्ने करिब ९० करोड मानिस जोखिममा परेका छन्।
वेलकमका जलवायु तथा स्वास्थ्य निर्देशक एलन डाङ्गोरले जीवाश्म इन्धन र मानव सिर्जित जलवायु परिवर्तनका कारण वायु प्रदूषण र अत्यधिक गर्मीबाट प्रत्येक वर्ष ३० लाखभन्दा बढी मानिसको मृत्यु हुने अनुमान रहेको बताए। सन् २०२५ मा विश्वको करिब ५२ प्रतिशत भूभाग कम्तीमा एक महिनासम्म अत्यधिक खडेरीबाट प्रभावित भएको उनले जानकारी दिए।
विज्ञहरूले विद्युतीकरण र स्वच्छ ऊर्जाको विस्तार, गर्मीसम्बन्धी पूर्वसूचना प्रणाली तथा जलवायु अनुकूलनमा लगानीलाई समाधानका उपायका रूपमा प्रस्तुत गरे। जलवायु तथा स्वास्थ्य वित्तदाता गठबन्धनले हालसम्म २० करोड अमेरिकी डलरभन्दा बढी रकम प्रदान गरिसकेको छ।
