म्याग्दी । विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्न आएका विदेशी पर्यटकहरूले बुधबार घोडेपानीमा नेपाली परम्परा अनुसार बडादसैँ मनाए । निधारमा रातो टीका र शिरमा पहेँलो जमरा लगाउँदै उनीहरूले दसैँको रौनकमा रमाएका हुन् ।
घोडेपानीस्थित होटल सन्नीमा एक कार्यक्रम आयोजना गरी विदेशी पाहुनालाई टीका–जमरा लगाइदिएको होटल सञ्चालक डमबहादुर पुनले जानकारी दिए । उनका अनुसार पर्यटकलाई नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको वास्तविक अनुभूति दिलाउने उद्देश्यले टीकाको परम्परा निभाइएको हो ।
“बडादसैँ नेपालीको महान् पर्व हो । यहाँ आएका पर्यटकलाई पनि टीका–जमरा लगाइदिएर हाम्रो संस्कार–संस्कृति नजिकबाट बुझ्ने अवसर दिएका छौँ,” पुनले भने । उनका अनुसार पर्यटकमार्फत नेपालको पहिचान विश्वभर फैलाउन मद्दत पुग्नेछ ।
घोडेपानी र पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गका प्रमुख गन्तव्य हुन् । समुन्द्र सतहबाट करिब दुई हजार आठ सय मिटर उचाइमा रहेको घोडेपानीबाट ४५ मिनेटको उकालो यात्रापछि तीन हजार दुई सय १० मिटर अग्लो पुनहिल पुगिन्छ । त्यहाँबाट गुर्जा, पुथा, मानापाथी, निलगिरी, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ । दसैँका बेला यी गन्तव्यमा पर्यटकको चहलपहल बढ्ने गरेको छ ।
