वासिङ्टन । खाडी क्षेत्रका छिमेकी राष्ट्रहरूको अनुरोधपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध तत्काल थप सैन्य कारबाही नगर्ने निर्णय गरेका छन्। सोमबार रोयटर्ससँगको कुराकानी र ह्वाइट हाउसमा सञ्चारकर्मीसँगको भेटमा उनले अहिले नयाँ आक्रमणको पक्षमा नरहेको बताए। कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतले युद्ध थप चर्किन नदिन आग्रह गरेका थिए।
ट्रम्पले अमेरिकी सेना उत्कृष्ट हतियारसहित पूर्ण तयारीमा रहेको तर ती हतियार प्रयोग गर्नुपर्ने अवस्था आउने सम्भावना कम रहेको बताए। इरानका बन्दरगाह र समुद्री गतिविधिलाई लक्षित गर्दै होर्मुज जलमार्गमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी भने कायमै रहने उनले स्पष्ट पारे।
ट्रम्पको यो भनाइ कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँगको भेटपछि आएको हो। अल थानीले गत साता इरानको भ्रमण गरेका थिए। युद्ध सुरु भएदेखि कतारले अमेरिका र इरानबीच मध्यस्थकर्ताको भूमिका खेल्दै आएको छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य कारबाही थालेको आठ महिनाभन्दा बढी भइसक्यो। युद्ध रोक्न इरानले अमेरिकी नाकाबन्दी हटाउन, केही आर्थिक प्रतिबन्ध फुकुवा गर्न र बमबारी रोक्न प्रस्ताव गरेको छ। त्यसको बदलामा इरानले होर्मुज जलमार्गमा आफ्नो नाकाबन्दी हटाएर आणविक कार्यक्रमबारे वार्ता गर्ने प्रस्ताव गरेको हो। तर अमेरिकाले उक्त प्रस्ताव अस्वीकार गरेको छ। विदेशमन्त्री मार्को रुबियोले आइतबार इरानका सर्तलाई अव्यावहारिक, अस्वीकार्य र हास्यास्पद भनेका थिए।
कूटनीतिक प्रयास चलिरहेकै बेला सैन्य गतिविधि रोकिएको छैन। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आइतबार राति अमेरिकाले इरानको केश्म टापुमा आक्रमण गरेको थियो, तर महत्वपूर्ण पूर्वाधारमा असर नपरेको स्थानीय अधिकारीले जनाएका छन्। इरानले पनि खाडी क्षेत्र र होर्मुज जलमार्गमा तेल बोकेका ट्यांकरमाथि आक्रमण जारी राखेको छ र पछिल्लो १० दिनमा ११ वटा ट्यांकर सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छन्।
