काठमाडौँ । नेपाली सेयर बजारमा किनेकै दिन सेयर बेच्न पाइने व्यवस्था ल्याउने तयारी सुरु भएको छ । नेपाल धितोपत्र बोर्डले एकदिवसीय अर्थात् इन्ट्राडे कारोबार सञ्चालनसम्बन्धी नियमावलीको प्रारम्भिक मस्यौदा तयार गरेको छ । सुझावसहित परिमार्जन गरी सरकारबाट स्वीकृत भएपछि यो व्यवस्था लागु हुनेछ ।
अहिले बजारमा टी प्लस टु प्रणाली छ । कुनै सेयर किनेपछि राफसाफ प्रक्रिया पूरा नभई फेरि बेच्न पाइँदैन, त्यसैले किनिएको सेयर बेच्न कम्तीमा चार दिन लाग्छ । नयाँ व्यवस्थाले यो बाधा हटाउनेछ र लगानीकर्ताले आज किनेको सेयर आजै बेच्न सक्नेछन् ।
तर, इन्ट्राडे सुविधा लिने कारोबारीले दिनभर किनेको सेयर त्यही दिन बेचिसक्नुपर्छ र बेचेको सेयर त्यही दिन किनिसक्नुपर्छ । कारोबार बन्द हुँदा उसको खरिदबिक्री शून्य हुनुपर्छ । कसैले आफैं स्थिति बन्द गरेन भने ब्रोकरको प्रणालीले बजार मूल्यमा स्वतः किनबेच गरिदिन्छ, जसलाई अटो स्क्वायर अफ भनिन्छ । त्यसबाट हुने नाफा वा नोक्सानको सम्पूर्ण जिम्मेवारी कारोबारीकै हुन्छ ।
इन्ट्राडे कारोबारका लागि ब्रोकर कम्पनीमा छुट्टै ट्रेडिङ खाता र डिम्याट खाता चाहिन्छ भने तोकिएको मार्जिन रकम जम्मा गर्नुपर्छ । कारोबार रकमको १५ देखि २० प्रतिशत मात्र जम्मा गरे पुग्ने भए पनि सेयर धेरै दिन होल्ड गर्न चाहनेले खातामा शतप्रतिशत रकम कायम गर्नुपर्छ ।
इन्ट्राडे र साधारण कारोबारीको बजार र अर्डर बुक एउटै हुन्छ । फरक यति हो कि इन्ट्राडे कारोबारीले दिनमै स्थिति बन्द गर्छ भने साधारण लगानीकर्ताले सेयर डिम्याटमा राखेर पछि बेच्छन् । एकै दिनमा छिटोछिटो किनबेच हुने भएकाले इन्ट्राडेमा सहुलियतपूर्ण कमिसन वा एकीकृत सेटलमेन्ट शुल्क लाग्ने व्यवस्था गरिएको छ । यो दर ब्रोकर र कारोबारीबिच तय गर्न सकिनेछ ।
