नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपकबाबु कँडेलले पार्टी सभापति गगनकुमार थापालाई लक्षित गरेर राज्यका तर्फबाट भ्रम फैलाउने काम भइरहेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले थापाविरुद्ध भइरहेका प्रचारबाजी र गतिविधिको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
कँडेलले राजनीतिक प्रतिस्पर्धालाई प्रतिशोधमा बदल्ने, राज्यशक्तिको दुरुपयोग गर्ने र सामाजिक सञ्जाललाई भ्रम तथा चरित्रहत्याको माध्यम बनाउने प्रवृत्ति लोकतान्त्रिक व्यवस्थाका लागि स्वीकार्य हुन नसक्ने बताए। पछिल्लो समय सरकारको ध्यान सुशासन, विकास र जनताको जीवनस्तर सुधार्नुभन्दा राजनीतिक नेतृत्वलाई कमजोर बनाउने प्रचारमा केन्द्रित भएको हो कि भन्ने आशंका उत्पन्न भएको उनको भनाइ छ।
उनले कांग्रेसको १५औँ महाधिवेशनलाई पार्टीको पुस्तान्तरण, रूपान्तरण र पुनर्जागरणको महत्वपूर्ण प्रस्थानबिन्दुका रूपमा व्याख्या गरेका छन्। महाधिवेशनमा ७० प्रतिशतभन्दा बढी युवा प्रतिनिधिको सहभागिता रहेको र डाक्टर, इन्जिनियर, प्राध्यापक, विद्यार्थी तथा उद्यमीसहित महिला, दलित, जनजाति, मधेसी र पिछडिएका क्षेत्रको समेत अभूतपूर्व प्रतिनिधित्व भएको उनले उल्लेख गरे। वडा तहदेखि केन्द्रसम्म नयाँ पुस्ताले आफ्नो उपस्थिति स्थापित गरेको उनको भनाइ छ।
कँडेलले सभापति थापा लामो समयदेखि राजनीतिक नेतृत्वमा युवा पुस्ताको हस्तक्षेप हुनुपर्छ भन्ने विचारको पक्षमा दृढतापूर्वक उभिँदै आएको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध नेता तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालमा व्यक्त गरिरहेका टिप्पणीले राजनीतिक संस्कारलाई बलियो नबनाउने उनको भनाइ छ। विचारमा असहमति राख्न र नेतृत्वको आलोचना गर्न पाइने भए पनि त्यसको नाममा चरित्रहत्या गर्ने र अप्रमाणित आरोप फैलाउने काम उचित हुन नसक्ने उनले बताए।
थापाले संसदमा कानुन सबैका लागि समान हुनुपर्ने धारणा व्यक्त गरेको स्मरण गराउँदै कँडेलले कसैले गल्ती गरेको भए निष्पक्ष, स्वतन्त्र र पूर्वाग्रहरहित छानबिन हुनुपर्ने बताए। दोषी देखिए कानुनअनुसार कारबाही हुनुपर्ने र नेपाली कांग्रेस कुनै पनि प्रकारको छानबिनबाट भाग्ने पार्टी नभएको उनको भनाइ छ।
सरकारलाई मिडिया ट्रायल बन्द गर्न, राज्यका निकायलाई निष्पक्ष र स्वतन्त्र रूपमा काम गर्ने वातावरण दिन र जनताको जीवन परिवर्तन गर्ने काममा सम्पूर्ण शक्ति लगाउन उनले आग्रह गरे। देशले सामाजिक सञ्जालमा एकअर्कालाई गाली गर्ने सरकार नभई परिणाम दिने सरकार खोजेको उनको भनाइ छ।
