जुम्लाको गुठिचौर गाउँपालिका–१ मा रहेको आकासे ताल पछिल्लो समय आन्तरिक पर्यटनको दृश्यावलोकनका लागि रोजाइ परेको छ। तालको प्राकृतिक सौन्दर्यले विशेषगरी आन्तरिक पर्यटक आकर्षित बनेको वडाध्यक्ष अर्जुनकुमार महताराले बताए।
समुद्री सतहदेखि चार हजार आठ सय ६० मिटर उचाइमा रहेको उक्त ताल चार हजार दुई सय ८० मिटरमा फैलिएको छ। उक्त ताललाई दूधकुण्ड प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको रूपमा पनि लिने गरिएको छ। ताल नजिकबाट देखिने सुन्दर हिमतालले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गरिरहेको वडाध्यक्ष महताराको भनाइ छ।
विशेषगरी दसैँ–तिहारको विदामा घर आएका आन्तरिक पर्यटक हिमाली मनोरञ्जन र दृश्यावलोकनका लागि त्यहाँ पुग्ने गरेको पाइएको छ। त्यस क्षेत्रमा यात्रुको सहजताका लागि पर्यटकीय पूर्वाधार विकास गर्नसके पर्यटन प्रवर्द्धन र स्थानीयको आयस्तर बढ्न सक्ने अपेक्षा गरिएको वडाध्यक्ष महताराले बताए।
उक्त ताल हिमालको काखमा रहेकाले त्यसमा रमाउन चाहने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको त्यहाँ पुगेका तिला गाउँपालिका–१ का दलबहादुर परियारले बताए। पछिल्लो समय ताल नजिकसम्म पुग्नका लागि गुठिचौर–१ मौरेसम्म सडक निर्माण गरिएको छ। सडक पुगेको स्थानबाट तालसम्म पुग्न करिब तीन किलोमिटर लामो पदयात्रा गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा सहजताका लागि व्यवस्थित पदमार्ग निर्माण गर्न बजेटको आवश्यकता परेको वडा कार्यालयले जनाएको छ। पछिल्लो समय तालको अवलोकन, घुमघाम, श्रव्यदृश्य अवलोकन तथा वृत्तचित्र निर्माण गर्नेलगायत प्रयोजनका लागि दैनिक चारदेखि पाँच समूहमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेको स्थानीयवासी दीपक बोहोराले बताउँछन्।
