धनकुटा नगरपालिका–९ मुलघाटस्थित विश्रान्ति वृद्धाश्रममा यस वर्षको तिहार फरक रौनकका साथ मनाइयो। छेउमै बग्ने तमोर नदी किनारको वृद्धाश्रममा बाजागाजासहित पुगेको कलाकार टोलीले देउसीभैलो, गीत तथा नृत्य प्रस्तुत गर्दै त्यहाँ आश्रित ३६ जना ज्येष्ठ नागरिकलाई खुसी बाँडेको छ।
वरिष्ठ लोकगायक तुलसी पराजुलीको नेतृत्वमा २० जना कलाकार वृद्धाश्रम पुगेका थिए। टोलीमा ७६ वर्षीया गायिका टीकादेवी पराजुलीसहित मेघराज घिमिरे, दुर्गा पराजुली, नगेन्द्र कटुवाल, मेखराज कार्की, रमेश अधिकारी र तारा ढकाललगायत सहभागी थिए। पराजुलीले देउसीभैलोसँगै ‘खोटाङ जिल्ला दिक्तेल बजार’, ‘कान्छीको छाता ढल्काइदेऊ यता’ र ‘सालैज्यू सालैज्यू’लगायत करिब एक दर्जन गीत प्रस्तुत गरे।
कलाकारहरूको गीत र सङ्गीतमा वृद्धाश्रमका ज्येष्ठ नागरिक पनि रमाउँदै नाचे। केहीका आँखा रसाए, केहीका ओठमा मुस्कान छायो। ‘परदेशबाट फर्की आयौँ, आफ्नै देशको माटो सम्झेर…’ भन्ने गीत गुञ्जिरहँदा विश्रान्ति आमा समूहकी सक्रिय सदस्य उर्मिला श्रेष्ठ भावुक बनिन्।
वृद्धाश्रममा डेढ दशकदेखि बस्दै आएकी चितवनकी सुशीला वैद्यका लागि यो कार्यक्रम अविस्मरणीय बन्यो। आफन्त हुँदाहुँदै पनि भेटघाट गर्न नआउने गरेको पीडा सुनाउँदै उनले लामो समयपछि मनैदेखि खुसी हुने अवसर पाएको बताइन्। वाकरको सहायताले हिँडडुल गर्ने वैद्य पनि गीतको तालमा हात हल्लाउँदै कलाकारलाई साथ दिइरहेकी थिइन्। भोजपुर घर भएकी ७५ वर्षीया सीता तामाङले प्रायः सबै गीतमा नाचेर आफ्नो उत्साह देखाइन्।
मनोरञ्जनसँगै कलाकार टोलीले वृद्धाश्रमलाई आर्थिक तथा खाद्य सामग्री सहयोगसमेत गरेको छ। टोलीले २२ हजार रुपैयाँ नगदसहित खाद्यान्न र फलफूल वितरण गरेको हो। गायक पराजुलीको परिवारका तर्फबाट ११ हजार १०० रुपैयाँ सहयोग प्रदान गरिएको थियो। समाजसेवी प्रताप थापा, सुमन तामाङलगायतले पनि आर्थिक सहयोग गरेका थिए। सहयोगी दातालाई विश्रान्तिका सल्लाहकार स्वामी विजयानन्द सरस्वती, व्यवस्थापक पद्मप्रसाद काफ्ले, कार्यवाहक महासचिव पुष्करप्रसाद जोशी र क्रियाशील सदस्य दिनेश श्रेष्ठले सम्मानपत्र प्रदान गरे। वृद्धाश्रमका तर्फबाट कलाकार टोलीलाई पनि सम्मान गरिएको थियो।
