मुगुमा भैलो खेल्न हिँडेको टोली चढेको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर छ।
सोरू गाउँपालिका–६ को गजेडीस्थित झ्यालेखोला नजिकै जिप दुर्घटना भएको प्रहरीले जनाएको छ। सोरूकोटबाट तारापानीतर्फ भैलो खेल्न जाँदै गरेको टोली बोकेको बा १८ च ४१८ नम्बरको जिपको ब्रेक नलागेपछि गाडी सडकको भित्तामा ठोक्किएको थियो।
जिल्ला प्रहरी प्रमुख डिएसपी रविराज थपलियाका अनुसार दुर्घटनामा सोरू गाउँपालिका–९ कालैका १९ वर्षीय गणेश ऐडी गम्भीर घाइते भएका छन्। उनको टाउको र निधारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ।
सोही दुर्घटनामा कालैकी १६ वर्षीया निर्मला ऐडी, १७ वर्षीया करिस्मा ऐडी र १९ वर्षीय अन्तिम योगी तथा खत्याड गाउँपालिका–७ का २९ वर्षीय चालक उपेन्द्र परियार घाइते भएका छन्। उद्धारमा खटिएका प्रहरी चौकी सोरूबर्माका प्रहरी नायब निरीक्षक देवबहादुर खड्काका अनुसार चालक परियार र निर्मला ऐडीको अवस्था मध्यम छ भने करिस्मा र अन्तिमको अवस्था सामान्य छ।
घाइतेहरूलाई उपचारका लागि गमगढीस्थित जिल्ला अस्पताल पठाइएको छ। जिपमा चालकसहित १२ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
