काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले हराएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १२१ रनको लक्ष्य पछ्याएको जनकपुर अन्तिम ओभरको चौथो बलमा ९३ रनमा समेटियो ।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो । उसका लागि ब्रान्डन म्याकमलेनले २३ बलमा ३३ रन बनाए भने थरिन्दु रत्ननायकेले २८ बलमा २७ रनको योगदान दिए । जनकपुरका कप्तान हर्मित सिंहले २२ रन खर्चेर ४ विकेट लिए । हेरी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले एक–एक विकेट हात पारे ।
जवाफमा जनकपुरको ब्याटिङ सुरुदेखि नै दबाबमा रह्यो । जिम्मी निशमले २०, तृतराज दासले २१ र आदित्य महताले १० रन बनाएबाहेक अरू कुनै ब्याटरले दोहोरो अंक छुन सकेनन् । सुदूरपश्चिमका स्कट कुगेलेनले १३ रन खर्चेर ३ विकेट लिए भने हेमन्त धामी, थरिन्दु रत्ननायके, कप्तान दीपेन्द्रसिंह ऐरी, अनिल खरेल र इशान पाण्डेले एक–एक विकेट लिए ।
यो जितसँगै सुदूरपश्चिम ६ खेलमा ८ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान ६ खेलमा ४ अंक मात्र जोडेको जनकपुर भने छैटौं स्थानमा झरेको छ ।
