काठमाडौंको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा आज भाइटीकाको अवसरमा भक्तजनको ठूलो भीड लागेको छ। दिदीबहिनी नभएका व्यक्तिहरूले बिहानैदेखि मन्दिर पुगेर पूजा–दर्शन गरी टीका लगाएका छन्।
यो मन्दिर वर्षभरि बन्द रहने र भाइटीकाको दिनमा मात्र खुल्ने परम्परा रहिआएको छ। त्यसैले दिदीबहिनी वा दाजुभाइ नहुनेहरूका लागि आजको दिन विशेष महत्त्वको हुन्छ। उनीहरूले मन्दिरमा पुगेर बालगोपालेश्वरको दर्शन गर्नुका साथै दीर्घायु र सुख–समृद्धिको कामना गर्दै टीका लगाउने चलन छ।
तिहारको अन्तिम दिनका रूपमा मनाइने भाइटीकामा दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने परम्परा छ। टीकासँगै माला र मीठो भोजन खुवाउँदै दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गरिन्छ।
भाइटीकालाई यमद्वितीयासमेत भनिन्छ। पौराणिक कथाअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई निम्तो दिएर टीका लगाएको दिनदेखि यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ। दाजुभाइ र दिदीबहिनीबिचको प्रेम र स्नेहलाई अझ गाढा बनाउने पर्वका रूपमा भाइटीका नेपाली समाजमा गहिरो आस्था बोकेको छ।
आज देशभर भाइटीका मनाइँदै छ। घरघरमा दिदीबहिनीले दाजुभाइको निधारमा टीका लगाइदिएका छन् भने कतिपयले मन्दिर र धार्मिक स्थल पुगेर पनि पर्व मनाएका छन्।
