बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना स्वदेश फर्किएमा उनलाई मृत्युदण्ड दिइने बङ्गलादेशका प्रमुख सरकारी वकिलले बताएका छन्। प्रमुख सरकारी वकिल मोहम्मद अमिनुल इस्लामले मङ्गलबार ढाकामा यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनले हसिनासँग अब कुनै विकल्प बाँकी नरहेको पनि बताए।
हसिनाका कानुन व्यवसायीहरूले नोभेम्बर ९ मा दिल्लीस्थित बङ्गलादेशको उच्चायोगलाई इमेल पठाउँदै उनका लागि नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र जारी गर्न माग गरेका थिए। तर बङ्गलादेश सरकारले उक्त माग अस्वीकार गरिदिएको छ। इस्लामले गम्भीर अपराधमा दोषी ठहरिएका व्यक्तिलाई राहदानी दिन नसकिने स्पष्ट पारे। बङ्गलादेशले यसअघि नै भारतसँग हसिनालाई फिर्ता पठाउन माग गरिसकेको छ।
विद्यार्थी आन्दोलन दबाएको आरोपमा बङ्गलादेशको अदालतले नोभेम्बर २०२५ मा हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो। हसिनाले भने यो मुद्दालाई मजाक भन्दै आफूमाथिका आरोपहरू अस्वीकार गर्दै आएकी छन्। हसिना भारतमा रहँदा दुई देशबीचको सम्बन्धमा तनाव कायमै छ। भारतीय विदेश मन्त्रालयले भने सुपुर्दगीको विषयलाई प्राविधिक मामिला बताएको छ।
भारतकी पूर्वकूटनीतिज्ञ वीणा सिक्रीले हसिनाले आफू बङ्गलादेश फर्कन र अदालतको सामना गर्न तयार रहेको स्पष्ट पारिसकेको बताइन्। राहदानी रद्द भएकाले यात्रा अनुमतिपत्रका लागि आवेदन दिनु तार्किक कदम भएको उनको भनाइ छ। बङ्गलादेशका विदेश राज्यमन्त्री हुमायुन कबीरले अझै पनि भारतबाट सुपुर्दगीकै माग गरिरहेको भन्दै सिक्रीले यसबाट ढाका हसिना नफर्कियून् भन्ने चाहन्छ भन्ने देखिने बताइन्।
हसिनाले आफू डिसेम्बरमा बङ्गलादेश फर्कने कुरा पटक-पटक बताइसकेकी छन्। एएफपीलाई दिएको अन्तर्वार्तामा उनले फर्किंदा आफूलाई फाँसी हुन सक्ने थाहा भएको, तर जनताप्रतिको आफ्नो जिम्मेवारीका कारण डरका आधारमा निर्णय नबदल्ने बताएकी थिइन्। सन् २०२४ को जुनमा सरकारी जागिरमा आरक्षणको विरोधमा सुरु भएको विद्यार्थी आन्दोलन चर्किएपछि ५ अगस्ट २०२४ मा हसिना सैन्य विमानमार्फत भारत आएकी थिइन् र त्यसयता उनी भारतमै बस्दै आएकी छन्।
