अर्घाखाँची । लुम्बिनी प्रदेशको राजधानी भालुबाङ अर्घाखाँचीसँग सिमाना जोडिएको भए पनि जिल्लावासीले त्यहाँ पुग्न अहिले लामो घुमाउरो बाटो प्रयोग गर्नुपरेको छ। सदरमुकाम सन्धिखर्कबाट गोरुसिङ्गे, चन्द्रौटा र धानखोला हुँदै भालुबाङ पुग्न करिब १२० किलोमिटर यात्रा गर्नुपर्छ। गच्छेबाट सुरु हुने नयाँ सडक बनेपछि यो बाध्यता अन्त्य हुनेछ।
गच्छेबाट ढिकुरा, धनचौर, जुकेना, जलुके, लामाताल र दरबाङ हुँदै भालुबाङ जोड्ने सडकको कुल लम्बाइ ७३ किलोमिटर छ। यो सडक पूरा भएपछि हालको मार्गभन्दा करिब ४७ किलोमिटर दूरी कम हुनेछ। लुम्बिनी प्रदेश सरकारले गौरवको योजनाका रूपमा अघि बढाएको यो सडकको निर्माण सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीले गरिरहेको छ।
कार्यालयका प्रमुख इन्जिनियर वासुदेव भण्डारीका अनुसार गच्छेदेखि धनचौर हुँदै लामातालसम्मको ४७ दशमलव ५ किलोमिटर सडकमा ग्राभेल सकिएको छ। गच्छेदेखि गैरागोठसम्मको सडक गत आर्थिक वर्षमै कालोपत्र भइसकेको थियो।
अम्मर एसियाली मल्लरानी जेभी प्युठानले गच्छेदेखि ढिकुरासम्मको ५ दशमलव ६५ किलोमिटर सडकमा अस्फाल्ट कालोपत्र गरिरहेको छ। करिब साढे तीन करोड रुपैयाँ बजेट रहेको यो खण्डको काम केही दिनमै सकिने भण्डारीले बताए। समपूरक आयोजनाअन्तर्गत खनाल वैदर्श सागर जेभी अर्घाखाँचीले झन्डै साढे नौ किलोमिटर सडक कालोपत्रसहित निर्माण गरिरहेको छ। त्यस खण्डको भौतिक प्रगति करिब ३५ प्रतिशत पुगेको छ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट पाँच करोड र सङ्घीय सरकारबाट पाँच करोड गरी १० करोड रुपैयाँ बजेट विनियोजन भएको छ। तर सम्पूर्ण सडक कालोपत्र गर्न झन्डै एक अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान छ।
यो सडकको लाभ अर्घाखाँचीका नागरिकले मात्र नभई छिमेकी जिल्ला गुल्मी, प्युठान र पाल्पाका बासिन्दाले समेत पाउनेछन्। सडक शितगङ्गा नगरपालिकाका वडा नम्बर ५, ६ र ७ तथा भूमिकास्थान नगरपालिकाका वडा नम्बर ९ र १० हुँदै जान्छ।
