ससेक्सकी डचेस मेगनका पिता थोमस मार्कल खुट्टामा जडान गरिएको विद्युतीय निगरानी उपकरण हटाएको आरोपमा फेरि अमेरिकी संघीय हिरासतमा पुगेका छन्।
अदालती कागजातअनुसार ८२ वर्षीय मार्कल मंगलबार फ्लोरिडाको टम्पामा संघीय मजिस्ट्रेटसमक्ष उपस्थित भएका थिए। अदालतले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ। अभियोजन पक्षका अनुसार उनले मंगलबार बिहानै खुट्टामा लगाइएको निगरानी उपकरण हटाएका थिए।
न्यायाधीश लिन्डसे एस ग्रिफिनले मार्कलले मुद्दाको सुनुवाइअघि रिहा हुँदा पालना गर्नुपर्ने सर्त उल्लङ्घन गरेको ठहर गरेका छन्। उपयुक्त आवासको व्यवस्था नभएको भन्दै अदालतले उनलाई रिहा गर्दा अन्य व्यक्ति र समुदायको सुरक्षा सुनिश्चित गर्न नसकिने आदेशमा उल्लेख गरेको छ। अदालतले उनको स्वास्थ्य परीक्षण गराउन र चिकित्सकले सिफारिस गरेका आवश्यक औषधि उपलब्ध गराउनसमेत आदेश दिएको छ।
बाल यौन दुर्व्यवहारसँग सम्बन्धित तस्बिर राखेको आरोप अस्वीकार गर्दै आएका मार्कल गत साता फ्लोरिडामा पक्राउ परेका थिए। त्यसपछि उनलाई आफ्नै निवासमा नजरबन्दमा राख्दै स्थान निगरानी गर्ने उपकरण लगाउन आदेश दिइएको थियो।
अमेरिकी न्याय मन्त्रालयका अनुसार एफबीआईले गत साता लस एन्जलसमा मार्कलको नाममा रहेका भण्डारण कक्षमा खानतलासी गरेको थियो। सन् २००८ देखि भाडामा लिइएका ती कक्षबाट अनुसन्धानकर्ताले फिल्मका नेगेटिभ, स्लाइड र पुस्तकसहित करिब ७८ सामग्री बरामद गरेका थिए।
मार्कलमाथि बालबालिकासँग सम्बन्धित अश्लील तस्बिर राखेको एक अभियोग लगाइएको छ। एफबीआई निर्देशक काश पटेलले मार्कलले निर्दोष बालबालिकालाई लक्षित गरेको आरोप लगाएका छन्। तर मार्कलले भने यी आरोपलाई घृणित झूट भन्दै अस्वीकार गरेका छन्।
मेगन सन् २०१८ देखि आफ्ना पितासँग सम्पर्कमा नरहेको बीबीसीको समाचारमा उल्लेख छ। उनले यसअघि सार्वजनिक गरेको वक्तव्यमा घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित हुन सक्ने बालबालिकाप्रति चिन्ता व्यक्त गरेकी थिइन्।
