सुनसरी — सुनसरीमा लागुऔषधसहित मोटरसाइकल बरामद गरिएको घटनालाई लिएर सामाजिक सञ्जालमा सुरक्षाकर्मीलाई दोषी देखाउने गरी भ्रामक प्रचार भएको सशस्त्र प्रहरी बलले दाबी गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीका अनुसार बरामदका क्रममा खिचिएको भिडियोलाई गलत व्याख्या गरेर भ्रम फैलाउने प्रयास भएको हो।
गत कात्तिक ४ गते दिउँसो करिब २ः३० बजे विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित नहर चोकबाट करिब ५० मिटर उत्तरपूर्वमा पार्किङ गरेर राखिएको को १ ०२–०४७ प १४७२ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो। मोटरसाइकल पार्किङ गरिएको अवस्थामा भेटिए पनि चालक त्यहाँ थिएनन्। त्यसपछि टोलीले मोटरसाइकललाई करिब १५–२० मिटर दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गतिर ल्याएर जाँच गरेको थियो।
जाँच भइरहेका बेला ५० देखि ५५ जनासम्म स्थानीय त्यहाँ जम्मा भएको सशस्त्र प्रहरीको भनाइ छ। उनीहरूले ड्युटीमा रहेका सुरक्षाकर्मीलाई अवरोध गर्नुका साथै बरामद लागुऔषध लुट्ने र प्रमाण नष्ट गर्ने प्रयास गरेको दाबी गरिएको छ। त्यही क्रममा सुरक्षाकर्मीकै मिलेमतोमा लागुऔषध राखेर कसैलाई फसाउन खोजिएको भन्ने अफवाह फैलाइएको बताइएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार भीडले लागुऔषध लुट्ने र प्रमाण नष्ट गर्ने प्रयास गर्दा भुइँमा खसेको कालो प्लास्टिकमा रहेको पदार्थ सुरक्षाकर्मीले उठाएर मोटरसाइकलमा पहिले रहेकै ठाउँमा राखेका थिए। यही दृश्यलाई गलत ढङ्गले व्याख्या गर्दै सामाजिक सञ्जालमा सुरक्षाकर्मीले नै लागुऔषध राखेको जस्तो देखाएर प्रचार गरिएको उनको भनाइ छ। जाँचका क्रममा नाइट्राभेट १० पत्ता, ट्रामाडोल १६ पत्ता र अन्य लागुऔषधजन्य पदार्थ चार थान फेला परेको छ। बरामद सामग्री र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ।
