रूपन्देहीको तिलोत्तमामा रहेको कुञ्जपार्कमा नयाँ आकर्षण थपिएको छ। सङ्गीतको तालअनुसार पानीका फोहरा उफ्रिने र रङ्गीन बत्ती बल्ने प्रविधिसहितको म्युजिकल वाटर फाउन्टेन सोमबार साँझदेखि सञ्चालनमा आएको हो।
तिलोत्तमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा निर्माण गरिएको यो फोहराको नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। सात बिघा क्षेत्रफलमा फैलिएको पार्कभित्र रहेको एक बिघाको पोखरीको पश्चिमतर्फ फोहरा बनाइएको छ।
परिकल्पनाकार लोक पुनका अनुसार रात्रिकालीन रूपमा सञ्चालन हुने यस्तो फोहरा नेपालमै पहिलो हो। सङ्गीत बज्दा त्यसको तालसँगै पानीका धारा माथि उठ्ने र रङ्गीन बत्तीले पोखरीको दृश्य झन् आकर्षक देखिने उनको भनाइ छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलका अनुसार फोहरा निर्माणमा एक करोड २६ लाख रुपैयाँ खर्च भएको छ। विस्तृत परियोजना प्रतिवेदनमा लागत करिब एक करोड ५० लाख रुपैयाँ अनुमान गरिएकोमा निर्माण व्यवसायीले कम खर्चमा काम सम्पन्न गरेको उनले जानकारी दिए।
कुनै बेला गौचरन र काँडे झाडी रहेको यो ठाउँलाई २०६६ सालदेखि स्थानीय झरना स्पोर्टस् क्लब र लोक पुन, धनन्जय पौडेललगायतको समूहले सफा गर्दै पार्कका रूपमा विकास गर्न थालेका थिए। अहिले पार्कमा डुङ्गा सयर, पिकनिक सेड, बगैँचा, बाल उद्यान र क्याफेका सुविधा छन् भने पुरानो सोमई माई मन्दिर पनि रहेको छ।
नगरपालिकाले कुञ्जपार्कलाई रात्रिकालीन पर्यटनको केन्द्र बनाउने योजना अघि सारेको छ। नगरप्रमुख खाँणका अनुसार वनवाटिका, बाउन्नकोटी, तिलोत्तमा पार्क, सिद्धार्थ पिस पार्क र जमुहानी पार्कसमेत समेटेर एकीकृत पार्क पर्यटन प्याकेज तयार गरिनेछ, जसले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय व्यवसायलाई लाभ पुग्ने अपेक्षा गरिएको छ। पार्कमा दैनिक तीन सयभन्दा बढी पर्यटक आउने र वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ।
