लन्डन । बेलायतका रक्षामन्त्री वेस स्ट्रिटिङले देश युद्धका लागि तयार हुन एक हजार दिनभन्दा केही बढी समय मात्र बाँकी रहेको चेतावनी दिएका छन् । द टेलिग्राफमा लेखेको लेखमा उनले सन् २०३० सम्ममा विरोधी शक्तिहरू आक्रमण गर्न सक्ने अवस्थामा पुग्न सक्ने बताएका छन् ।
उनका अनुसार विरोधीहरूको हानि पुर्याउने चाहना नयाँ होइन, तर तिनीहरूको क्षमता बदलिएको छ । सैन्य शक्ति र युद्धकालीन अर्थतन्त्र विस्तार हुँदै गएकाले दशकको अन्त्यसम्ममा आक्रमण सम्भव हुन सक्ने उनको आकलन छ । खराब अवस्था आउन नदिन त्यसका लागि तयार रहनुपर्ने उनले बताएका छन् ।
रुसले नेटोविरुद्ध हाइब्रिड युद्ध तीव्र बनाएका बेला यो चेतावनी आएको हो । स्ट्रिटिङले रक्षा क्षमता बलियो बनाउनु नै सम्भावित आक्रमणकारीलाई पुनर्विचार गर्न बाध्य पार्ने उपाय भएको बताएका छन् ।
सरकारले २२ अक्टोबरमा ‘बी रेडी’ अभियान सुरु गर्दै प्रत्येक घरमा तीन दिनका लागि नौ लिटरसम्म पिउने पानी, लामो समय टिक्ने खाना, टर्चलाइट, रेडियो, थप ब्याट्री, पावर बैंक, प्राथमिक उपचार सामग्री, आवश्यक औषधि र केही नगद राख्न आग्रह गरेको छ । प्रधानमन्त्री एन्डी बर्नहामले यो आत्तिनुपर्ने विषय नभई कठिन परिस्थितिमा काम चलाउन सकिने समझदारीपूर्ण तयारी भएको बताएका छन् ।
एमआई फाइभका महानिर्देशक सर केन म्याकलमले ह्याकिङले बैंकिङ सेवा ठप्प हुन सक्ने, ड्रोनले उडानमा अवरोध पुर्याउन सक्ने र अस्पतालमा हुने साइबर आक्रमणले उपचारमा असर पार्न सक्ने चेतावनी दिएका छन् ।
बेलायतले हाल कुल गार्हस्थ उत्पादनको करिब २.६ प्रतिशत रक्षामा खर्च गर्छ । सन् २०३५ सम्म ३.५ प्रतिशत पुर्याउने नेटोको प्रतिबद्धतातर्फ ध्यान केन्द्रित गरिएको छ । युक्रेनलाई ड्रोन सहयोग गरेबापत रुस बेलायतसँग क्रुद्ध छ र बेलायतले एक लाख २० हजार ड्रोनसहितको सहयोग घोषणा गरेको थियो ।
