औद्योगिक क्षेत्रभित्र चलिरहेका सवारी मर्मत केन्द्र र उत्पादनसँग प्रत्यक्ष सम्बन्ध नभएका व्यवसाय अब पहिलेकै रूपमा रहन पाउने छैनन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ती व्यवसायलाई उत्पादनमूलक उद्योगमा बदल्न निश्चित समय दिएको छ।
लिमिटेडले पुरानो व्यवस्था हटाएर औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली २०८३ लागू गरेको हो। मंगलबार सार्वजनिक गरिएको जानकारीअनुसार उत्पादनमूलक नभएका उद्योग–व्यवसायले तीन वर्षभित्र आफ्नो स्वरूप बदल्नुपर्नेछ। रूपान्तरणका लागि प्रवेश शुल्क नलाग्ने व्यवस्था पनि गरिएको छ।
पहिलेदेखि क्षेत्रभित्र सञ्चालनमा रहेका ग्यारेज, वर्कसप र सर्भिस सेन्टरका लागि पाँच वर्षको समय तोकिएको छ। तोकिएको अवधिभित्र उत्पादनमूलक उद्योगमा रूपान्तरण नगरे जग्गा र भवनको बहाल सम्झौता रद्द हुने लिमिटेडले जनाएको छ।
नयाँ नियमावलीले गैरउत्पादनमूलक गतिविधिलाई थप कडा बनाएको छ। उत्पादनमूलक उद्योगलाई गैरउत्पादनमूलकमा बदल्न, त्यसमा गैरउत्पादनमूलक उद्देश्य थप्न वा त्यस्ता उद्योगसँग गाभ्न पाइने छैन। प्राथमिकतामा नपरेका र क्षेत्रभित्र राख्न उपयुक्त नदेखिएका व्यवसायको सम्झौता पुरानै उद्देश्यमा नवीकरण नहुने व्यवस्था पनि छ।
लिमिटेडले २०७१ सालदेखि खुला प्रतिस्पर्धाबाट जग्गा र भवन बहालमा दिन थालेको र उत्पादनमूलक उद्योगलाई मात्र प्राथमिकता दिएको थियो। त्यसपछि नयाँ ग्यारेज खुलेका थिएनन्, तर पुराना सञ्चालनमै थिए। हाल लिमिटेडअन्तर्गत देशभर १० औद्योगिक क्षेत्र छन्, जहाँ ७०० भन्दा बढी उद्योगमा २० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।
