काठमाडौँ — आगामी केही दिन मौसम झन् बिग्रने देखिएपछि पर्यटन विभागले पर्यटक र पर्वतारोहीलाई उच्च हिमाली क्षेत्रको यात्रा नगर्न आग्रह गरेको छ। विभागले कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षा, हिमपात र हिमपहिरोको जोखिम रहेकाले सो अवधिमा हिमाली क्षेत्रमा नजान अनुरोध गरेको हो।
जल तथा मौसम विज्ञान विभागको बुलेटिनमा उक्त अवधिमा मेघगर्जन, चट्याङ र हुरीबताससँगै भारी वर्षा हुन सक्ने उल्लेख छ। वर्षाले बाढी, पहिरो र भूक्षयको खतरा बढाउने तथा उच्च हिमाली भेगमा हिमआँधी र हिमपहिरो जान सक्ने पूर्वानुमान गरिएको छ। यस्तो मौसमले पदयात्रा र हिमाल आरोहणमा प्रत्यक्ष असर पर्ने भएकाले विभागले यात्रा स्थगित गर्न भनेको छ।
हिमाली क्षेत्रमा पुगिसकेका पदयात्री र पर्वतारोहीलाई सतर्क रहन पनि विभागले अनुरोध गरेको छ। आधिकारिक निकायबाट आउने मौसमसम्बन्धी नयाँ जानकारी हेरेर मात्र यात्रा योजना बनाउन विभागले आग्रह गरेको छ।
विभागले खुम्बु र मनाङलगायत हिमाली क्षेत्रका साथै काठमाडौँ र पोखराका स्वास्थ्य संस्थामा लेक लाग्दा देखिने समस्या (एक्युट माउन्टेन सिकनेस) को उपचार सेवा सहज र निरन्तर रूपमा उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।
