अमेरिकी मध्यावधि निर्वाचन हुन एक साता बाँकी रहँदा प्रतिनिधि सभाका डेमोक्र्याटिक सदस्यहरूको छानबिन प्रतिवेदनले अमेरिकी राजनीतिमा विवाद सिर्जना गरेको छ। हाउस जुडिसियरी कमिटीले सार्वजनिक गरेको प्रतिवेदनमा जेफ्री एपस्टिनसँग राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बन्धबारे पुराना र नयाँ आरोपहरू समेटिएका छन्।
प्रतिवेदनको केन्द्रमा पूर्व मिस स्विट्जरल्यान्ड बीट्रिस कुलको बयान छ। कुलले सन् १९९३ मा न्युयोर्कको प्लाजा होटलमा ट्रम्पले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी छन्। त्यसबेला २४ वर्षकी कुल जुरिखबाट अमेरिकन ड्रीम पेजेन्टमा भाग लिन आएकी थिइन्। प्रतियोगिता ट्रम्पको साझेदारीमा भएको थियो भने प्लाजा होटल पनि उनकै स्वामित्वमा थियो।
कुलका अनुसार दिवाभोजमा ट्रम्पसँग करिब १५ मिनेट कुरा भएको थियो र उनले भिसा तथा न्युयोर्क युनिभर्सिटीमा भर्नामा सहयोग गर्ने आश्वासन दिएका थिए। त्यसपछि एपस्टिनले आफूलाई ट्रम्पका नजिकका साथी भनेर चिनाउँदै मार-अ-लागोका कार्यक्रममा बोलाएका थिए। सोही दिन एक प्रतिनिधिले उनलाई सुइटमा बोलाएको र त्यहीँ घटना भएको उनको भनाइ छ। राहदानी रोकिएकाले उनले प्रतियोगिता सकेर मात्र स्विट्जरल्यान्ड फर्कन पाएकी थिइन्। सन् २०२४ मा उनले जबर्जस्ती चुम्बनको आरोप लगाएकी थिइन्, समितिसमक्ष भने उनले घटना यौन हिंसा नै भएको स्पष्ट पारेकी छन्।
प्रतिवेदनमा अन्य चार महिलाका बयान पनि छन्। पूर्व मोडल स्टेसी विलियम्सले सन् १९९३ मा ट्रम्प टावरमा एपस्टिनकै अगाडि दुर्व्यवहार भएको बताएकी छन्। व्यवसायी जिल हार्थाले सन् १९९० को दशकमा मार-अ-लागोमा हमलाको प्रयास भएको आरोप लगाएकी थिइन्। काल्पनिक नामका दुई महिलाले अल्पवयस्क हुँदा भएको शोषणबारे एफबीआईलाई जानकारी दिएको उल्लेख छ।
ह्वाइट हाउसले सबै आरोप निराधार र झुटा भन्दै खण्डन गरेको छ। विज्ञप्तिमा कुनै आरोप सत्य नभएको र ट्रम्पले एपस्टिनलाई गलत व्यवहारकै कारण मार-अ-लागो क्लबबाट निकालेको दाबी गरिएको छ। प्रेस सचिव क्यारोलिन लिभिटले कुलको आरोपलाई फजुल भनेकी छन्।
