चक्रवाती आँधी अर्नबको सम्भावित प्रभावलाई ध्यानमा राख्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा सतर्कता अपनाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएको छ। प्राधिकरणको हवाई मार्ग सेवा सुरक्षा मापदण्ड विभागले बुधबार सुरक्षा परिपत्र जारी गर्दै वायुसेवा सञ्चालक, विमानस्थल सञ्चालक र हवाई सेवा प्रदायकलाई सतर्क रहन भनेको हो।
आँधी भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीका कारण नेपालमा मध्यमदेखि भारी वर्षा, चट्याङसहितको हुरीबतास र तीव्र हावा चल्न सक्नेछ। हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना पनि छ। यसको असर विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पर्न सक्ने तथा कर्णाली र सुदूरपश्चिमका केही भागमा समेत देखिन सक्ने आकलन गरिएको छ।
प्राधिकरणले कात्तिक १२ बिहीबारदेखि कात्तिक १४ शनिबारसम्म भारी वर्षा, तीव्र हावाहुरी र कम दृश्यताका कारण उडान तथा अवतरण प्रभावित हुन सक्ने जनाएको छ। प्रतिकूल मौसमले विमानस्थल सञ्चालन र धावनमार्गको अवस्थामा समेत असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ।
परिपत्रमा हवाई ट्राफिक व्यवस्थापन गर्ने निकायलाई प्रतिकूल मौसममा उडानको उचित योजना बनाउन र आवश्यकताअनुसार अन्य इकाइसँग समन्वय गर्न निर्देशन दिइएको छ। मौसम सञ्चालन सीमाभन्दा खराब भएमा उडानको मार्ग परिवर्तन र होल्डिङ गर्न भनिएको छ। हवाई ट्राफिक नियन्त्रकलाई विमानबीच दूरी कायम गर्न र विन्ड सियर तथा चट्याङसम्बन्धी जानकारी उडानमा रहेका विमानलाई तत्काल दिन निर्देशन दिइएको छ। धावनमार्गमा पानी जम्ने र सतह चिप्लिने जोखिमलाई ध्यानमा राख्दै नियमित निरीक्षण गर्न, फोहोर हटाउन र बत्तीलगायत अत्यावश्यक प्रणाली चुस्त राख्न पनि भनिएको छ।
