मधेस प्रदेशमा सत्ताको जोडघटाउ चुलिँदै जाँदा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शनिबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। यादव भक्तपुरको गुण्डुस्थित ओलीको निवासमै पुगेका थिए।
प्रदेशमा सरकारको नेतृत्व दाबी गर्ने तयारीमा रहेका यादव पछिल्लो समय शीर्ष नेताहरूसँगको संवादमा निकै सक्रिय देखिएका छन्। मधेस सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएपछि प्रदेशको सत्तासमीकरण नयाँ मोडमा पुगेको छ। प्रदेश सभामा जसपा नेपाल सबैभन्दा ठुलो दलका रूपमा छ।
राजनीतिक वृत्तमा यो भेटलाई मधेसमा नयाँ समीकरणको सम्भावित संकेतका रूपमा हेरिएको छ। एमालेको समर्थन फिर्तासँगै मुख्यमन्त्रीको पद संकटमा परेपछि विभिन्न दलहरूबीच परामर्श र संवादको श्रृङ्खला तीव्र बनेको छ।
उल्लेखनीय के छ भने, यादवले आजै नेपाली कांग्रेसका सभापति गगन थापासँग पनि छुट्टै भेटघाट गरेका थिए। एकै दिनमा दुई प्रमुख दलका शीर्ष नेतासँगको भेटपछि मधेसको राजनीतिक समीकरणले कुन दिशा लिन्छ भन्ने चासो बढेको छ।
आगामी दिनमा हुने थप छलफल र निर्णयले प्रदेश सरकारको भविष्य टुंग्याउने देखिएको छ.
