काठमाडौं । अक्टोबर महिनामा नेपाल भित्रिने पर्यटकको संख्या एक लाख ३२ हजार नाघेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अक्टोबर २०२६ मा कुल एक लाख ३२ हजार ८१४ जना विदेशी पर्यटक नेपाल आएका छन् ।
यस महिना सबैभन्दा धेरै पर्यटक अमेरिकाबाट आएका छन् । अक्टोबरमा १७ हजार ४३७ जना अमेरिकी पर्यटक नेपाल भ्रमणमा आएका हुन् । गत वर्षको सोही महिनामा यो संख्या १३ हजार २८६ थियो । सेप्टेम्बर २०२६ मा आठ हजार २९९ अमेरिकी पर्यटक आएका थिए, जसको तुलनामा अक्टोबरमा आगमन उल्लेख्य बढेको हो ।
छिमेकी मुलुक भारतबाट आउने पर्यटकको संख्या भने घटेको छ । यस महिना १२ हजार ९७ जना भारतीय पर्यटक नेपाल आएका छन्, जबकि गत वर्षको अक्टोबरमा १७ हजार २९८ भारतीय पर्यटक आएका थिए ।
चीनबाट ११ हजार ६९५, बेलायतबाट नौ हजार ३८५, अष्ट्रेलियाबाट नौ हजार ३५२ र जर्मनीबाट छ हजार ११४ पर्यटक नेपाल भित्रिएका छन् । गत वर्ष अक्टोबरमा चीनबाट छ हजार ७५५ पर्यटक आएका थिए । श्रीलंकाबाट पाँच हजार ५६०, बंगलादेशबाट चार हजार ८९३, फ्रान्सबाट चार हजार १६४ र म्यानमारबाट तीन हजार २५ पर्यटक आएको तथ्यांक छ ।
समग्रमा अक्टोबरमा पर्यटक आगमन गत वर्षको तुलनामा ३.४ प्रतिशतले बढेको छ । गत वर्षको अक्टोबरमा एक लाख २८ हजार ४४३ पर्यटक नेपाल आएका थिए । भारतीय आगमन घट्दा सार्क क्षेत्रबाट आउने पर्यटक १७.२ प्रतिशतले घटेर २४ हजार ५३ मा झरेको छ, जुन गत वर्ष २९ हजार ६० थियो । युरोपबाट ३९ हजार ८७७ र अमेरिकी मुलुकहरूबाट २१ हजार २७० पर्यटक आएका छन् ।
