कञ्चनपुर । दोधारा चाँदनीमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको हालसम्म २६ प्रतिशत काम सम्पन्न भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका इञ्जिनियर अनिश केसीका अनुसार बहुप्रतिक्षित यो आयोजनाको निर्माण अवधि ३० महिना तोकिएको छ ।
बन्दरगाह करिब दुई अर्ब ३७ करोड भारतीय रुपैयाँको लागतमा निर्माण हुँदैछ । निर्माण २४ डिसेम्बर २०२५ बाट सुरु भएको हो । आयोजना सम्पन्न भएपछि सुदूरपश्चिममा आर्थिक चहलपहल बढ्ने विश्वास केसीले व्यक्त गरेका छन् ।
बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशंकर सामुदायिक वनमा नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । निर्माणका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन र सुरक्षा भवनलगायतका पूर्वाधार बन्नेछन् ।
नेपालतर्फ सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेका छन् । भारततर्फ बन्दरगाहसम्मको पहुँच मार्ग निर्माण भइरहेको छ ।
सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।
