पोखरामा सम्पन्न जिल्ला अधिवेशनबाट नेपाली कांग्रेसको कास्की जिल्ला सभापतिमा ऋषि काफ्ले निर्विरोध निर्वाचित भएका छन्। पूर्वसभापति शेरबहादुर देउवा समूहको तर्फबाट उनी जिल्लाको नेतृत्वमा पुगेका हुन्।
काफ्लेको सभापतित्वमा नयाँ कार्यसमिति गठन भएको छ। समितिका अन्य पदाधिकारी र सदस्यहरू छनोट गर्ने काम भने अझै चलिरहेको छ। क्लस्टर मिलाउने काम बाँकी रहेकाले पालिका र वडास्तरका संरचना क्रमशः टुङ्ग्याइने काफ्लेले बताएका छन्। निर्वाचन समितिले त्यसको काम गरिरहेको उनको भनाइ छ।
कास्कीका सबै वडा, निर्वाचन क्षेत्र र पालिकाको अधिवेशन सम्पन्न भएपछि जिल्ला अधिवेशन गरिएको हो। काफ्ले यसअघि जिल्ला संयोजकको जिम्मेवारीमा रहेका थिए। जिल्ला अधिवेशन सम्पन्न भएसँगै कास्की कांग्रेसको संगठनात्मक संरचना नयाँ चरणमा प्रवेश गरेको छ।
