नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दुई रनले हराउँदै रोमाञ्चक जित हात पारेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेल अन्तिम बलसम्म अनिश्चित रह्यो।
१७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो। जितका लागि अन्तिम ओभरमा आवश्यक रन बनाउन नसक्दा जनकपुर दुई रनले चुक्यो।
जनकपुरका लागि सैफ हसनले अविजित ७१ रनको इनिङ्स खेले। उनले ४७ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे। विशाल सुश्लिङले ४३ रन जोडे भने जेम्स निशमले २७ रन बनाए। विराटनगरका बलरमध्ये आन्द्रे रसेलले तीन विकेट लिए। एन्जेलो म्याथ्युजले दुई र रुपेश सिंहले एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनाएको थियो। विराटनगरका इमरान शेखले ५६ रन बनाए भने आन्द्रे रसेलले अविजित ५२ र लोकेश बमले ५० रनको योगदान गरे। जनकपुरका अभिषेक तिवारीले दुई विकेट लिए भने मोइन अलीले एक विकेट हात पारे।
खेलको अन्तिम ओभरमा जनकपुरलाई जित नजिक पुर्याएका सैफ हसन अन्त्यसम्म क्रिजमा रहे पनि टोलीलाई पार लगाउन सकेनन्। दुई रनको यो जितसँगै विराटनगरले प्रतियोगितामा महत्वपूर्ण अंक जोडेको छ।
