काठमाडौं । विराटनगर किङ्सका स्टार अलराउन्डर आन्द्रे रसेलले जनकपुर बोल्ट्सविरुद्धको खेलमा अन्तिम ओभरमा टोलीलाई जित दिलाउन पाउँदा खुसी लागेको बताएका छन् । जनकपुरविरुद्ध १३ रन रक्षा गर्दै विराटनगरले दुई रनको रोमाञ्चक जित निकालेको थियो ।
खेलपछि पत्रकार सम्मेलनमा रसेलले अन्तिम ओभरमा विपक्षी ब्याटरलाई झुक्याउन छोटो बल फाल्ने योजना बनाएको जानकारी दिए । १९औँ ओभर चलिरहँदा १० रन रक्षा गर्न पाए पनि आफ्नो बलिङमा विश्वास गर्ने सोच बनाएको उनले बताए । अन्तिम बलमा केही डर र उत्सुकता रहे पनि आफ्नो रणनीति सफल भएको उनको भनाइ थियो । डेथ ओभरमा ब्याटरले यस्तो बलको अपेक्षा नगर्ने भएकाले त्यही योजना काम लागेको उनले बताए । आफू पनि ब्याटर भएकाले विपक्षी ब्याटरको सोच बुझ्न सजिलो हुने उनले बताए ।
रसेलले नेपाली क्रिकेटमा धेरै प्रतिभावान् खेलाडी रहेको भन्दै प्रशंसा गरे । नेपालका बलरहरू क्षमतावान् रहेको र उनीहरूविरुद्ध रन बनाउन सजिलो नभएको उनले बताए । विश्वका विभिन्न लिगमा २० वर्षभन्दा बढी खेलेको अनुभव रहेकाले फरक परिस्थितिमा खेल्न गाह्रो नहुने उनको भनाइ छ । नेपालमा राष्ट्रिय टोलीबाट खेल्न सक्ने क्षमता भएका १५ देखि २० जना युवा खेलाडी रहेको उनले बताए । आगामी केही वर्षमा नेपालले विश्वका ठूला टोलीलाई हराउन सक्ने विश्वाससमेत उनले व्यक्त गरे ।
टी–२० क्रिकेटमा १० हजार रन पूरा गरेको उपलब्धिबारे बोल्दै रसेलले पाँच वर्षअघि नै १० हजार रन र ५०० भन्दा बढी विकेट लिने फास्ट बलिङ अलराउन्डर बन्ने लक्ष्य राखेको बताए । चोट र शल्यक्रियाका बाबजुद मेहनत गरेर उक्त उपलब्धि हासिल गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ । अब आफ्नो लक्ष्य टी–२० क्रिकेटमा १२ हजार रन पूरा गर्ने रहेको उनले बताए ।
