काठमाडौं । सरकारले नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा जैविक र प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा यो निर्णय गरेको हो ।
व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने जैविक र प्राङ्गारिक मललाई सूचीमा राखिएको छ । रासायनिक मलको विकल्प र माटोको स्वास्थ्य सुधारका लागि विश्वभर नानो र जैविक मलको प्रयोग बढिरहेको सन्दर्भमा सरकारले यस्ता मललाई आवश्यक पदार्थमा राखेर प्रवर्द्धन गर्न खोजेको हो । यसले आधुनिक र वातावरणमैत्री मलको प्रयोग विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी बैठकले मलको समग्र आपूर्ति प्रणाली थप व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले मल नियन्त्रण आदेश २०८३ समेत स्वीकृत गरेको छ । नयाँ आदेशसँगै मलको उत्पादन, वितरण र प्रयोगसम्बन्धी व्यवस्थामा स्पष्टता आउने र कृषकसम्म मल सहज रूपमा पुग्ने विश्वास सरकारले गरेको छ । कृषि तथा पर्यावरण क्षेत्रको सुधारलाई लक्षित गरी ल्याइएको यो आदेशले मल व्यवस्थापनमा देखिँदै आएका समस्या सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।
